काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।
आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३:३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३:३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ । दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५:४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।
ताजा अवस्थामा तीन जना उम्मेदवार बन्ने देखिएको छ । संस्थापन पक्षबाट सभापति देउवा निर्विकल्प उम्मेदवार हुने भने संस्थापनइतरबाट शेखर कोइराला र गगन थापा उम्मेदवार बन्ने सम्भावना छ । तर यी दुईबाट एकजना साझा सम्मेदवार बन्नसक्ने पनि सम्भावना त्यत्तिकै प्रवल छ ।
संस्थापनइतरबाट साझा उम्मेदवार बनाउनका लागि हिजोदेखि छलफल, बैठक र भेटघाट तीब्र चलिरहेको छ । आज मंगबार बिहानसमेत शेखर र गगनमध्ये एकजनालाई साझा उम्मेदवार बनाउन बैठक चलिरहेको छ । लाजिम्पार्टस्थित एम्बास्डर होटलमा चलेको बैठकमा यो समाचार तयार पार्दासम्म सहमति जुटेको छैन ।
संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् ।


प्रतिक्रिया