नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुन्छन् भन्ने कुरा घामझै छर्लङ थियो, तर यति धेरै मत ल्याउँछन् भन्ने अनुमान थोरैले मात्र गरेका थिए । सभापति देउवाका प्रतिस्पर्धी महामन्त्री गगन थापाले अनुमान गरिएभन्दा कम मत पाए । उनलाई आफ्नै समूहबाट घात भएको स्पष्ट हुन्छ ।
संस्थापनइतरले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २२ वटा टिकट पाएको थियो, त्यसमध्ये १८ जनाले जितेका छन् । समानुपातिकतर्फ ९ जना निर्वाचित भएका छन् । यसैलाई संस्थापनइतरको मत मान्ने हो भने कुल २७ हुन्छ, तर गगनले २५ मत मात्र पाए । गगनको दुई मत आफ्नै समूहबाट गायब भयो । पुस्तान्तरणको एजेन्डामा सहमति जनाउने थप पाँच जना सांसदले गगनलाई मत हाल्ने अनुमान गरिएको थियो । प्रदीप पौडेललगायत केही युवाहरु गगनको पक्षमा खुलेका थिए । आफ्नो समूहको २७ र थप पाँच गरी गगनले ३२ मत पाउने अनुमान गरिएको थियो ।
संस्थापन पक्षसँग खुलेको ५७ मत थियो । यो मतमा ७ थपिएर आयो । सभापति देउवाले ६४ मत प्राप्त गरे । पुस्तान्तरणको एजेन्डामा सहमत तर, मत खेर नफाल्ने ७ जनाले सभापति देउवालाई नै मतदान गरे । यसको अर्थ संस्थापनइतरको एजेन्डा ठीक थियो, तर देउवालाई तत्काल कमजोर बन्न दिनु हुँदैन भन्ने मान्यतामा अडिग रहेको देखियो ।
यदि गगन थापा दलको नेता निर्वाचित भएमा राजनीतिक कोर्षले परिवर्तन लिन सक्छ भन्ने अनुमान धेरैले गरिरहेका थिए । तर, सभापति देउवा नै पुनः ठुलो मतान्तरले विजयी भएपछि उनकै एजेण्डा अनुमोदन भएको प्रमाणित भएको छ । यसले पार्टीमा देउवा झनै शक्तिशाली देखिएका छन् । संघ तथा प्रदेशको सरकार निर्माण गर्ने सम्मुखमा गठबन्धन दलहरुसँग देउवाको उपस्थिति झनै बलियो बनेको छ ।
सभापति देउवाको संगठन गर्ने क्षमता महत्वपूर्ण फ्याक्टर रहेको देखिन्छ । आफूबाट टाढिएका धेरैलाई आफ्नो समूहमा मिलाउन सक्ने क्षमता सभापति देउवासँग देखिन्छ । सिनियर नेता रामचन्द्र पौडेल, लगभग पानी बाराबारको अवस्थामा पुगेका प्रकाशमान सिंह र कोइराला समूहको ठूलो हिस्सा आफ्नो पक्षमा पार्न सक्नु सभापति देउवाको जीतको आधार देखिन्छ । यता, गगनले आफ्ना विपक्षीलाई समेट्नु त परको कुरा आफ्नो समूहमा भएका सबैलाई अड्याउन समेत सकेनन् ।
गगन थापाको पुस्तान्तरणको एजेण्डा राम्रो थियो । यो एजेण्डाले आममानिस, अन्य पार्टीदेखि सामाजिक सञ्जालमा जति समर्थन पाएको थियो, त्यत्ति संसदीय दलका मतदातालाई प्रभावित पार्न सकेन । यो संसदीय दलको निर्वाचनले ‘चरित्र नभएको महिला र भविष्य नभएको नेताको पछि लाग्नु हुँदैन’ भन्ने आम कांग्रेसीजनको मान्यतालाई सार्थक बनाउन सकेको देखिएन ।
सभापति देउवाको कार्यकाल अबको ३ वर्ष मात्र हो, त्यसपछि उनी विधानतः सभापति बन्न पाउँदैनन् । त्यसपछि स्वभाविक रुपमा पार्टीमा पुस्तान्तरण हुन्छ भन्ने कुरामा दुई मत नहोला । पार्टीमा यति धेरै योगदान दिएका सभापति देउवाको यो अन्तिम कार्यकाल हो । उनको यो अन्तिम कार्यकाल किन अपमानजनक बनाउने भन्नेतर्फ धेरैले सोचविचार गरेको पनि हुनसक्छ ।
संसदीय दलको निर्वाचनमा सभापति देउवाको जीतसँगै पुस्तान्तरणको एजेन्डा तत्कालका लागि सान्दर्भिक नभएको पुष्टि हुन्छ । पुस्तान्तरणको एजेन्डा तत्काललाई असान्दर्भिक देखिए पनि नेपाली कांग्रेसको भविष्य भने यसैमा देख्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै जाने देखिन्छ । संस्थापनइतरको एजेन्डामा पनि नछाड्ने, सभापति देउवाको सम्मानजनक अवतरण खोज्नेहरुको मत यसपटकको संसदीय दलको निर्वाचनमा निर्णायक देखियो ।


प्रतिक्रिया