काठमाडौं । सरकार गठनका लागि सत्ता गठबन्धनभित्र अनौपचारिक रुपमा तीनवटा मोडालिटी तयार भएको छ । शीर्ष तीन दलको हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नयाँ सरकार गठन र पावर सेयरिङमा तीनवटा मोडालिटी तयार पारेको हो । यो मोडालिटीमा आज शुक्रबारबाट व्यापक छलफल हुँदैछ ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा एउटा खाका बनेको छ । त्यस्तै, राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको बुझिएको छ ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न तयार नहुने अवस्थामा तेस्रो मोडालिटीलाई कम महत्व दिइएको बताइन्छ । औपचारिकरूपमा माओवादीले पनि ती राष्ट्रपति र प्रधानमन्त्री पदमा दाबी गर्दै आइरहेको छ ।
यस्तो अवस्थामा पहिलो मोडालिटीमा सरकार बनाँउदा राष्टपति कांग्रेस, प्रधानमन्त्री माओवादी केन्द्र, उपराष्ट्रपति माओवादी केन्द्र, सभामुख कांग्रेस, उपसभामुख एकीकृत समाजवादी र राष्ट्रिय सभा अध्यक्ष एकीकृत समाजवादीलाई दिने विषयमा छलफल हुँदैछ । यही मोडालिटीलाई नै अन्तिम रूप दिने गरी गठबन्धनमा छलफललाई गति दिने तयारी रहेको बालुवाटारस्रोतले बतायो ।
प्रधानमन्त्रीमा कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आकांक्षा छ । हिजो बिहीबार प्रचण्डले बालुवाटारमा भएको शीर्ष तहको छलफलमा पनि देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आफूलाई पहिलो चरणमा प्रधानमन्त्री बन्ने गरी सघाउन आग्रह गरेका छन् ।
सरकार गठनका लागि दाबी पेस गर्न दललाई राष्ट्रपतिले दिएको समय अब तीन दिन बाँकी छ । प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७ दिनको समय १० गते साँझ ५ बजे सकिँदै छ ।


प्रतिक्रिया