काठमाडौं । वामपन्थीहरुलाई पुनः एक ठाउँमा उभ्याउन चीन सक्रिय रुपमा लागेको छ । चिनियाँ कार्यवहाक राजदूत वाङ सिनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार बिहान भेट गरी सरकार गठनमा चिनियाँ चासो देखाइसकेका छन् ।
कार्यवहाक राजदूत वाङले संभावित सत्तासमीकरण र सरकार निर्माणमा माओवादी केन्द्रको भूमिकाबारे चासो राखेका थिए ।प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत भइरहेको र त्यसका लागि कांग्रेससँग गम्भीर ढंगले कुरा भइरहेको जवाफ दिएको बताइएको छ ।
यदि कांग्रेससँग सहकार्य नभए एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका प्रचण्डसँग चिनियाँ अधिकारीले भेट गरेका हुन्। अघिल्लो साता वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग समेत भेट गरेका थिए । त्यसबेला समेत वाङ सत्तासमीकरणका सम्भावित परिदृष्यबारे लिङदेनसँग छलफल गरेका थिए ।
नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस १२ मा काठमाडौं आउँदैछन्। राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको छ ।


प्रतिक्रिया