गठबन्धन टुट्लाकी भन्ने सबैभन्दा ठूलो पिर रामचन्द्र पौडेललाई

गठबन्धन टुट्लाकी भन्ने सबैभन्दा ठूलो पिर रामचन्द्र पौडेललाई


ग्लोब नेपाल
4.4k
Shares

काठमाडौं । गठबन्धन टुटलाकी भन्ने सबैभन्दा ठूलो पिर नेपाली कांग्रेसका सिनियर नेता रामचन्द्र पौडेललाई परेको छ । आज शनिबार उनको राजनीतिक दौडधूप हेर्दा त्यस्तै अनुभूति हुन्थ्यो । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति नछोड्ने अडान राखेपछि रिसाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फकाउन किन उनले एक्कासि राजनीतिक दौडधूप बढाए, बुझिनसक्नु छ ।

नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय गुज्रन लाग्दा गठबन्धन दलबीचको एकता कायम राख्न पौडेलले सक्रियता बढाएका हुन् । शनिबार बिहान प्रचण्ड र नेपालसँग एक घण्टा छलफल भएको छ । सो भेटमा नयाँ सरकार गठनका लागि सहमति जुटाउने र यही गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।

भोलि साँझ ५ बजेसम्म सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने दबाबमा रहेका सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा बस्ने तय भएको छ । यसअघि पटक पटक बसेको बैठकमा शक्ति बाँडफाँडमा दलहरूले आफ्नो अडान नछोडेका कारण सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रले सुरुको २ वर्ष आफूले प्रधानमन्त्री पाउनुपर्ने दाबी गरेको छ भने नेकपा एकीकृत समाजवादीले सरकारको कार्यकालको १ वर्ष प्रधानमन्त्री पाउनुपर्ने माग गरेको छ ।

राष्ट्रपतिका लागि काँग्रेस र एकीकृत समाजवादीले आफ्नो दाबी प्रस्तुत गरेका छन् भने अन्य पदहरू बाँडफाँडको विषयमा पनि गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन ।