पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आफूले चीनसँग धेरैपटक पहल गरेको बताएका छन् । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलकाे उद्घाटन गर्दै उनले भूमिगत राजनीतिबाट सार्वजनिक भएसँगै पोखराको विमानस्थल निर्माणमा पहल गरेको दावी गरे ।
‘शान्ति सम्झौतामा आएदेखि नै लगातार यो विमानस्थल निर्माणका लागि संवाद गर्दै आएको थिएँ । निर्माणका लागि भएका आन्दोलन र अनसन र त्यसलाई तोड्न भूमिका खेलेको छु । सबैका सपना आज पूरा भएको छ,’ उनले भने, ‘आजको जमानामा आवश्यक पर्ने भनेकै कनेक्टिभिटी हो । हाम्रो लागि हवाई कनेक्टिभिटी प्रमुख विषय हो । यसका लागि मैले पटकपटक चिनियाँ दूतावास र चीन सरकारसँग कुरा गरेको छु । चीन भ्रमणमा जाँदा तत्कालीन महासचिव हु जिन्ताओ र हालका महासचिव सि चिन फिङसँग प्रत्यक्ष कुरा गरेको थिएँ ।’
उनले अब कुरा नगरी काममा लाग्ने दोहोर्याए । ‘मैले अहिले गण्डकी प्रदेशकै प्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको छु । सामाजिक न्याय, सुशासन र विकासका लागि काम गर्ने प्रतिबद्दता जनाएको छु,’ उनले भने, ‘मैले बाँकी जीवन यही कामका लागि व्यतित गर्नेछु । छिट्टै निजगढ विमानस्थल निर्माणको प्रक्रिया थाल्ने विश्वास व्यक्त गर्दछु ।’ उनले चीनतर्फको नाका खोल्न र रेलमार्ग अध्ययन छिटो सक्न चीन सरकारसँग आग्रह पनि गरे ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भ्रष्टाचारको डंगुरलाई सफा गर्दै समाजवादको यात्रामा अघि बढ्ने बताए । राजनीतिक स्थायित्व, सुशासन र विकासमा एकजुट रहेको र यसमा कसैले रोकन नसक्ने उनले बताए । ‘अर्थतन्त्रमा समस्या छन्, तर समाधान काबु बाहिर छैन,’ उनले भने, ‘अर्थतन्त्रलाई लयमा फर्काउने छौं ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण समय सञ्चालनका लागि सहयोग गर्ने वचनबद्दता ब्यक्त गरे ।
प्रतिक्रिया