प्रहरी अस्पतालमा १० करोड घोटाला !

प्रहरी अस्पतालमा १० करोड घोटाला !

आउट डेटेड एमआरआई मेसिन किन्न आईजीपी सिंहको दबाब



काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगन्जले १० वर्ष पुरानो मोडेलको एमआरआई मेसिन खरिद गरेर १० करोड रुपैयाँ घोटाला गर्ने योजना बनाएको छ । आईजीपी धीरजप्रताप सिंह, एआईजी डा. आशा सिंह, अस्पतालका रेडियोलोजिष्ट डिआईजी डा. विजयराम श्रेष्ठ र डिआईजी डा. केदार खड्गीको संलग्नतामा पुरानो मोडेलको एमआरआई खरिद गरेर १० करोड रुपैयाँ घोटाला गर्ने योजना बनाएको सूचना बाहिर आएको छ ।

अस्पतालको संवेदनशीलता तथा अपरिहार्यतालाई ध्यानमा राखी सरकारले नयाँ मोडेलको एमआरआई मेसिन खरिद गर्न २७ करोड ५० लाख रकम निकासा दिएको छ । तर, आउट डेटेड (दश वर्ष पुरानो) मोडेलको सिङ्गल आरएफ सिस्टम (Single RF System) को एमआरआई मेसिन खरिद गर्ने तयारी भएको छ । यो मेसिनलाई हाल १७–१८ करोड रुपैयाँभन्दा बढी पर्दैन ।

गृह मन्त्रालय स्रोतले ग्लोब नेपाललाई उपलब्ध गराएको जानकारी अनुसार सरकारले विनियोजन गरेको रकमबाट वर्तमान मोडेलको (Latest Dual RF System) को एमआरआई मेसिन खरिद हुनसक्छ । तर आउट डेटेड मोडेलको मेसिन खरिद गर्ने योजनाबारे मन्त्रालय जानकार छ । र, यसबारे छानविनको तयारी भइरहेको छ ।

नेपाल प्रहरी अस्पतालसँग हाल रहेको एमआरआई मेसिन दश करोडमा खरिद गरिएको थियो । अस्पतालको लापरवाहीका कारण उक्त मेसिन अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । मेसिनमा हेलियम लेभल कम हुँदै गएपछि मेसिनका अन्य म्याग्नेटले काम गर्न छोडेको प्राविधिकहरु बताउँछन् । अस्पतालले समयमै मर्मत गर्न वेवास्ता गरेकाले दश करोडको एमआरआई मेसिन कवाडी बन्न पुगेको हो । नयाँ मेसिन खरिद गरी कमिशन खाने चक्करमा अस्पतालको मेसिन बिगारिएको त होइन ? भन्ने प्रश्नको जवाफ अस्पताल प्रशासनसँग छैन ।

नयाँ एमआरआई मेसिन खरिद गर्न अस्तालका रेडियोलोजिष्ट डिआईजी डा. विजयराम श्रेष्ठको संयोजकत्वमा डिआईजी डा. केदार खड्गीसमेत सदस्य रहेको ५ सदस्यीय समिति गठन भएको थियो । अस्पतालको संवेदनशीलता तथा अपरिहार्यतालाई ध्यानमा राखी नयाँ एमआरआई मेसिन खरिद गर्न सरकारले २७ करोड ५० लाख रकम निकासा दिएको हो ।

हरेक अस्पतालका रेडियोलोजी सम्बन्धी सामानहरु सिमेन्स (Simens) कम्पनीसँग सेटिङ्गमा कम मूल्यका सामानलाई बढी मुल्य देखाइ ठूलो कमिशन खाने नेटवर्किङ लामो समयदेखि चलिरहेको छ । सिमेन्स कम्पनीसँग खरिद गरिने Single RF System को एमआरआई मेसिनको कम्पनी मुल्य १७ देखि १८ करोड भन्दा बढी पर्दैन । तर यही मेसिनमा अनावश्यक एसेसरिज देखाई सरकारले निकासा गरेको २७ करोड ५० लाख रकममा करोडौं कमिशन खाने चक्कर रहेको बुझिएको छ ।

सरकारले निकासा गरेको रकमले आधुनिक (Dual RF Syestem) को एमआरआई मेसिन किन्न पुग्ने भए पनि त्यसो नगरी पुरानै मोडेलको मेसिन किनेर करोडौं रकम घोटला गर्न अस्पतालका रेडियोलोष्टि डिआईजी डा. विजयराज श्रेष्ठ, अस्पताल प्रमुख एआईजी आशा सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अनेक प्रपञ्च गरिरहेको सूचना बाहिरिएको छ ।

२० करोडभन्दा माथिको खरिदमा संगठन प्रमुखले टेण्डर स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रहरी अस्पतालका महँगा सामाग्री खरिदमा प्रहरी महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षको स्वार्थमा ठूला चलखेल भइरहेको बुझिएको छ ।

यस्तै चलखेल धनगढी र विराटनगर तालिम केन्द्रको लागि किनिने एक्सरे मेसिनको लागि पनि भएको छ । कमिशनको लोभमा प्राविधिक तथा संरचना विनै तालिम केन्द्रमा एक्सरे मेसिन खरिद गर्ने योजना बनाइएको छ ।

ठूलो रकम खर्च गरेको आरोप लाग्दै तेस्रो वरियताबाट आईजीपी बनेका धीरजप्रताप सिंह यस्तै खरिदहरुबाट असुल उपर गर्न लागिपरेको देखिन्छ । यसअघि म्याट्रेस खरिद प्रकरण, म्यादी प्रहरीको कपडा खरिदमा विना प्रतिस्पर्धा ठेकेदारसँग सेटिङ मिलाएको र प्रहरीको जुत्ता खरिदमा सेटिङ गरी ७७ वटै जिल्लामा एउटै दाममा एउटै व्यक्तिबाट खरिद गरी ठूलो रकम हात पारेपछि अख्तियार अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

आफ्नो कार्यकाल समाप्त हुन २ महिना बाँकी रहेका आईजीपी धीरजप्रताप सिंह, कार्यकाल समाप्त हुन १८ महिना बाँकी रहेकी एआईजी आशा सिंह र कार्यकाल समाप्त हुन १५ महिना बाँकी रहेका डिआईजी डा. विजयराज श्रेष्ठको मिलिमतोमा प्रहरी अस्पतालमा भइरहेको करोडौँको चलखेललाई छानविन गर्ने तयारी गरिरहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।