विराटनगर । आफ्नै साहुबाट ठगीमा परी कारागार चलान भएका सुनसरी इटहरी-२० तरहराका गोपाल भनिने लालबहादुर विकलाई न्याय माग्दै इटहरी चौकमा स्थानीय र आफन्तले सडक प्रदर्शन गर्दै आएका छन् । लालबहादुर विक निर्दोष रहेको भन्दै जिल्ला अदालतको फैसलाविरुद्ध उनीहरू सडकमा उत्रिएका हुन् । न्याय नपाए अदालत जाने नेपालको कानुनलाई समेत बेवास्ता गरी उनीहरू सडकमा आउन बाध्य थिए । कारण थियो, जुन निकायले न्याय दिने आश गरिएको हुन्छ, त्यही निकायले नै अन्यायमा पारेपछि सडक संर्घषमा उत्रिए ।
गत बिहीबार सडकमा उनीहरूले लालबहादुर निर्दोष हुन्, पीडितलाई न्याय देऊ लगायतका नारा लगाए । प्रदर्शनमा पीडित लालबहादुरका ७० वर्षीय बुबा आमा, उनकी श्रीमती समेत सहभागी थिए । पीडित लालबहादुरका बुबा हर्कबहादुर विश्वकर्माले छोरामाथिको अन्यायले आफू मर्नु न बाँच्नु भएको पीडा सुनाए । उनले जसरी भए पनि आफ्नो छोरालाई कारागारबाट छुटाउन अनुरोध गरे ।
‘घरमा हातमुख जोर्न समेत नसक्ने अवस्था छ । कहाँबाट ल्याँउ त्यत्रो तीन करोड ?’ हर्क बहादुरले भने, ‘सबैले अन्याय भएको जान्दाजान्दै आफ्नो निर्दोष छोरा जेल गएको छ । छुटाइदिनु होला ।’ सहभागी सामाजिक अभियन्ता गोमा तामाङले लालबहादुरको फैसला उच्च अदालत विराटनगरले उल्टाउनुपर्ने तर्क राखिन् । उनले न्यायालयले पीडितलाई न्याय दिनुको सट्टा अन्याय गरेको टिप्पणी गरिन् ।
‘कारागारमा रहेका विश्वकर्मालाई न्याय उच्च अदालतले दिनपर्छ,’ उनले भनिन्, ‘उजुरीवालाले समेत निर्दोष भएको दाबी गरिरहँदा न्यायाधीशले पीडितको उठिबास हुने गरी फैसला गरेको छ । अब न्याय माग्न कहाँ जाने ? ‘ प्रदर्शनमा सहभागी धेरैले अदालतले गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाउनुपर्ने माग राखेका थिए ।
विश्वकर्मालाई सवा तीन करोडको बिगो
गोपाल भनिने लालबहादुर विश्वकर्मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० ब्रह्मपुरमा बस्छन् । गरिब परिवारका लालबहादुर १० वर्ष अघि खाडी मुलुक दुबई बसेर नेपाल आएका थिए । आएलगत्तै विवाह गरे । उनले विदेश नजाने भन्दै चिनेजानेकै पसलमा काम गर्न थाले । लालबहादुरको घर र उनले काम गर्ने पसल करिब ३ किलोमिटर दूरीमा पर्छ । मासिक साढे २० हजार पारिश्रमिक लिएर काम गरे ।
उनले काम गर्ने सुन पसलका सञ्चालक हुन्, इटहरीका दीपक विश्वकर्मा गजमेर । दीपककाे सिंहदेवी ज्वेलर्सबाहेक मनी ट्रान्सफर, सपिङ सेन्टर पनि थियो । तर, योबाहेक पनि दीपकको अर्को ठुलो आर्थिक अवैध धन्दा थियो । उनले पसलमा आउने धेरैलाई तथा अन्य मानिसहरूलाई राम्रो ब्याज दिने भन्दै पैसा उठाउने गर्थे । उनले पास बुक नै बनाएर बचतका नाममा करोडौँ रकम उठाएका थिए ।
दीपकले सञ्चालन गरेको सुन पसलमा उनका बुबा कृष्ण, भाइ कमल, दिदी सीता पनि काम गर्थिन् । दीपकले उनीहरू सबैलाई त्यसै गरी पास बुक बनाएर पैसा उठाउने कार्यमा संलग्न गराएका थिए । दीपकका बाबु कृष्ण विश्वकर्मा पढ्न लेख्न जान्दैनथे । पसलमा छोराछोरी नभएको समयमा कृष्णले पैसा बुझ्ने र पास बुकमा लेख्ने काम लालबहादुरलाई लगाउने गर्थे ।
समय बित्दै गयो । यसैगरी दीपकले करोडौँ रकम उठाए । तर, ब्याजको आशले पैसा दिएकाहरूले ब्याज त परको कुरा सावाँ पनि फिर्ता पाएनन् । जति रकम जम्मा गरे पनि आजसम्म जम्मा गरेका व्यक्तिले कुनै रकम पाएका छैनन् ।
आफ्नो पैसा नउठ्ने संकेत पाएपछि पीडितहरू प्रहरी गुहार्न पुगे । पीडितहरूको जाहेरीपछि प्रहरीले कृष्ण विश्वकर्मा, दीपक विश्वकर्मा, सीता विश्वकर्मालाई पक्राउ गर्यो । सोही क्रममा लालबहादुर पनि पक्राउ परे । आरोपीमध्ये कमल विश्वकर्मा भने अहिले पनि फरार छन् । कमल दीपकका भाइ हुन् ।
पक्राउ पर्दासम्म लालबहादुरले आफूमाथि के भइरहेको छ भन्ने सामान्य थाहा पनि थिएन । त्यसपछि पक्राउ परेका चारै जना विरुद्ध इजाजत बिना वित्तीय कारोबार गरेको मुद्दा चल्यो । उनीहरू विरुद्ध जाहेरी दिएका २२१ जना र प्रहरी प्रतिवेदनमा उल्लेख भएका ५४ जना गरी जम्मा २७५ जनाको रकम हिनामिना गरेको आरोप लागेको थियो । ३० दिन हिरासतमा बसेपछि अदालतले लालबहादुरलाई सामान्य तारिखमा छाड्न आदेश दिएको थियो । उनलाई लागेको थियो कि आफूले गल्ती गरेको छैन र सजाए पनि भोग्न पर्दैन ।
तर, उनले सोचेजस्तो भएन । एक वर्षअघि गत २०७८ सालमा पुसमा उक्त मुद्दाको फैसला आयो । जसले उनको सातो उडायो । परिवारसमेत आलाप विलाप गर्न थाले । अदालतले उनलाई पनि दोषी करार गर्दै ३ करोड १४ लाख ११ हजार रुपैयाँ जरिवाना र डेढ वर्षको कैद सजाय सुनायो । उक्त फैसलामा दीपक विश्वकर्माले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०३ को उपदफा १ को ‘क’ सम्बन्धी कसुर अर्थात् इजाजत नलिई बैंक तथा वित्तीय कारोबार गरेको आरोपमा सोही ऐनको दफा १०४ को उपदफा १ को देहाय ‘क’ बमोजिम तीन वर्ष कैद र १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ जरिवाना सुनाइयो । त्यसको आधा रकम मुख्य दोषी ठहरिएका दीपकलाई पर्याे ।
त्यस्तै अन्य प्रतिवादी सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा गजमेर, र गोपाल भनिने लालबहादुर विश्वकर्मालाई सोही दफा अनुसार जनही १ वर्ष ६ महिना कैद र नौ करोड ४२ लाख ३३ हजार ४ सय ४४ रुपैयाँ दामासाहीले जरिबानाको सजाय गर्नु भन्ने फैसला भयो । उक्त रकम तीन जनामा भाग लगाउँदा ३ करोड १४ लाख ११ हजार रुपैयाँ पर्न आउँछ ।
तर, उनी विरुद्ध जाहेरी दिनेहरूले लालबहादुरको यसमा संलग्नता नरहेको र आफूहरूको पैसा उनले हिनामिना नगरेको बकपत्र गरेका छन् । त्यस्तै सञ्चालकहरूले समेत लालबहादुरको यसमा संलग्नता नरहेको बयान दिएका छन् । जाहेरी दिने र मुख्य आरोपीले समेत लालबहादुरको संलग्नता नरहेको बताएका छन् ।
प्रहरीले अनुसन्धानको क्रममा पसलमा रहेका बेला पास बुकमा लेख्नेबाहेक लालबहादुरको अन्य संलग्नता पुष्टि गर्न सकेको छैन । तर, जिल्ला अदालत सुनसरीका न्यायाधीश निर्मला योङयाले गरेको फैसलामा लालबहादुरले करिब सवा तीन करोड रुपैयाँ तिर्नुपर्ने उल्लेख छ ।
यसले लालबहादुरको परिवारमा ठुलो बज्रपात पारेको छ । उनी एक महिनादेखि जिल्ला कारागार कार्यालय झुम्कामा कैद भुक्तान गरिरहेका छन् । उनले आफू अन्यायमा परेको भन्दै जिल्ला अदालतविरुद्ध उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका छन् । उक्त रिट निवेदन २६ पुसमा पेसी चढ्दै छ ।
प्रतिक्रिया