काठमाडौं । गण्डकी र मधेश प्रदेशमा सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । गण्डकी प्रदेश सभा बैठक आज अपराह्न ३ बजे बोलाइएको छ भने मधेश प्रदेशमा शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ ।
सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार छन् भने मधेश प्रदेशमा नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।
गण्डकी प्रदेश सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको थियाे। यहाँ नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो। एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भइसकेका छन्। गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ। ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन्।
यता, मधेश प्रदेशमा सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको बाँडफाँटकाे टुङ्गो केन्द्रबाटै लगाएका छन् । सोही सहमति अनुसार जनता समाजवादी पार्टीले मुख्यमन्त्री पाएको छ । एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने भएका छन् ।
प्रतिक्रिया