राष्ट्रपति र सभामुखमध्ये एक पद कांग्रेसलाई, एमाले विलखबन्दमा !

राष्ट्रपति र सभामुखमध्ये एक पद कांग्रेसलाई, एमाले विलखबन्दमा !



काठमाडौं । राष्ट्रपति र सभामुखमध्ये एक पद कांग्रेसलाई दिने संकेत प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । शनिबार सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले यस्तो संकेत गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘एमालेसँग गठबन्धन गर्दा कांग्रेस प्रमुख प्रतिपक्षी भएर बस्छ भन्ने कल्पना गरिएको थियो । तर, कांग्रेसले पनि विश्वासको मत दिएको हुनाले उसप्रति पनि मेरो दायित्व हुन्छ ।’ सभामुखको निर्वाचन अगाडि प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक डाकेका छन् । प्रधानमन्त्री दाहालले डाकेको सर्वदलीय बैठकमा एमाले कसरी प्रस्तुत हुन्छ, त्यसले अबको राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने बताइएको छ । त्यसमा पनि माघ ५ गते सभामुखको निर्वाचनअघि नै प्रधानमन्त्रीले सर्वदलीय छलफल गर्न खोज्नुलाई राजनीतिकरुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

स्वघोषणा गरेर कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको होइन । विश्वासको मत माग्न प्रधानमन्त्री दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका हुन् । कांग्रेससँग विश्वासको मत माग्ने विषयमा माओवादीले धेरै कसरत गरेको थियो । त्यही कसरतबाट निस्केको प्रतिफललाई औपचारिकता दिन प्रधानमन्त्री दाहाल सभापति देउवा निवासमा मत माग्न पुगेका थिए ।

कांग्रेससँग प्रधानमन्त्री दाहालले विश्वासको मत मागेपछि सभापति देउवाले संसदीय दल र पार्टी पदाधिकारीसँग छलफल गरेका थिए । पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि सत्ता साझेदार सबैभन्दा ठूलो घटक एमाले विलखबन्दमा परेको छ । प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनका लागि गरेको सहमति तोड्ने संकेत गरेपछि एमाले विलखबन्दमा परेको हो । सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले माहोल नबिगारिदिन अनुरोध गरे ।

यो समस्या सुल्झाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच बिहान बेलुकै भेट हुन थालेको छ । यी दुई नेताबीच जति नै भेटघाट गरे पनि समस्याको समाधान हुने संकेत देखिएको छैन । विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमतिसमेत कार्यान्वयन नहुनु एमाले माओवादी सहकार्य अन्त्यतिरको बाटो लागेको हो कि भन्ने विश्लेषण गरिएको छ ।

कांग्रेस पहिलेको पनि सहयात्री दल हो । उसले विश्वासको मत दिएपछि सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिसहितमा कसरी मिलेर जाने भन्नेमा छलफल गरेर निष्कर्षमा पुग्ने सोचमा प्रधानमन्त्री दाहाल पुगेका छन् ।

राष्ट्रपति वा सभामुखमध्ये एउटा पद कांग्रेसलाई दिने प्रस्ताव प्रधानमन्त्री दाहालले माघ ३ गते बोलाइएको सर्वदलीय बैठकमा राख्न सक्ने बताइएको छ । यो प्रस्ताव सुनेपछि एमाले कसरी प्रस्तुत हुन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ ।

कांग्रेसले पनि सभामुखको निर्वाचन अघि नै संसदमा रहेका दलबीच छलफल गरेर अघि बढ्ने निर्णय गरिसकेको छ । विश्वासको मत लिनुपूर्व माओवादीसँग भएको मौखिक सहमतिअनुसार कांग्रेसले माओवादीसहितका दलहरूबीच सहमति जुटाएर राष्ट्रपति पद लिने संकेत दिइसकेको छ ।