प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। सोमबार बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन्।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए। उनीहरुबीच बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल-चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताए। उनले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको समेत बताए।

राजदूत सोङले नेपालको आर्थिक एवम् भौतिक पूर्वाधारको विकासमा चीनको साथ रहने जानकारी गराए। राजदूत सोङले पोखरामा यति एयरलायन्सको विमान दुर्घटना भएकोप्रति दुख व्यक्त गरे।

सोङ एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। नयाँ राजदूत सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्। उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्। बेइजिङले एसिया मामिला हेर्ने पाँच जना डेपुटी डाइरेक्टर जनरलमध्ये सोङलाई नेपालको राजदूतमा नियुक्ति गरेको हो।