काठमाडौं । संसद सचिवालयले आज सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दैछ । भोलि बुधबार मनोनय र बिहीबार निर्वाचन हुने कार्यतालिका सार्वजनिक हुँदैछ । प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेवारी दिने तयारी गरेको छ ।
केही दिनअघि धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमार्फत सभामुखका लागि अन्य दलसँग छलफल गर्ने बताएको थियो । कांग्रेसकै प्रस्तावअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आज ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखक कांग्रेसले सभामुखमा ‘कसलाई उम्मेदवार बनाउने ?’ भन्ने विषयमा आज मंगलबार टुंगो लाग्ने बताउँछन् । ‘हामी छलफलमै छौं, कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो आज मंगलबार हुन्छ,’ कांग्रेस प्रमुख सचेतक लेखकले भने । कांग्रेस स्रोतका अनुसार विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र अर्जुननरसिंह केसीले सभामुखका लागि इच्छा देखाउँदै आएका छन् ।
एमालेले नेता पृथ्वी सुब्बा गुरुङलाई सभामुख उम्मेदवार बनाउने गरी भित्री तहमा छलफल गरिरहेको छ । हालको सत्तागठबन्धन बन्दा भने प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल सभामुख भागबन्डा गर्ने सहमति भएको बताइन्छ ।
सभामुखका लागि एक जनाको मात्रै मनोनयन परेको अवस्थामा भने प्रतिनिधिसभा बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य जबराले सभामुखमा निर्विरोध निर्वाचित घोषणा गर्नेछन् ।


प्रतिक्रिया