काठमाडौं । विवादस्पद मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहसँग भेट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार झापामा हिमालयन टि गार्डेनमा मुकाम बनाएर बसेका बेला प्रसाईले दर्शन भेट गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र यतिबेला सपरिवार चितवन फर्किसकेका छन् ।
प्रसाईले आफ्नो फेसबुक पेजमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारससँग संवाद गरिरहेको तस्बिर राखेका छन् । उनले फेसबुक वालमा लेखेका छन्, ‘राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउने अभियानको विषयमा राजा ज्ञानेन्द्र शाह र पारस शाहसँग अर्थपूर्ण भेट ।’
प्रसाईंले नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भएका बेलामा अध्यक्ष ओलीसँग व्यक्तिगत सम्बन्ध बनाएका थिए । एमाले चितवन अधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारी गरिरहेका प्रसाईलाई अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
झापा क्षेत्र नं. ३ बाट एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि प्रसाईं राष्ट्र, राष्ट्रियता र धर्म संस्कृतिको अभियानमा लागेर राजतन्त्र फर्काउने अभियानमा लागेका छन् । राजा चाहियो भन्दै विभिन्न फोरमहरुमा अभिव्यक्ति दिइरहेका प्रसाईंले एमाले छाड्ने मनस्थिति बनाएको बुझिएको छ ।



प्रतिक्रिया