सभामुखमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेको कति मत आउँछ ?

सभामुखमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेको कति मत आउँछ ?


ग्लोब नेपाल
7.4k
Shares

काठमाडौं । सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको छ । संसद भवन नयाँ बानेश्वर पुगेर न्यौपनेले उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला छन् ।

संसद सचिवालयले भोलि हुने सभामुख चयन प्रक्रियामा आज साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । यसअघि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

सभामुख पदमा दुईजना उम्मेदवार बनेपछि मत विभाजन हुने भएको छ । एमालेसहितको सत्ता गठबन्धनका उम्मेदवार घिमिरे निर्वाचित हुने निश्चित जस्तै भए पनि कांग्रेस उम्मेदवार न्यौपानेले कति मत ल्याउँछिन् भन्ने विश्लेषण सुरु भएको छ ।

कांग्रेससँग ८८ मत छ भने नेकपा (एस) सँग १० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग ४ मत छ । यसबाहेक सत्ता गठबन्धनबाट असन्तुष्ट जनता समाजवादी पार्टीको १२, नागरिक उन्मुक्ति पार्टीको ७, राष्ट्रिय जनमोर्चाको १ र अन्य दुई स्वतन्त्रको मत कांग्रेस उम्मेदवार न्यौपानेको पक्षमा आउने अनुमान गरिएको छ ।

यी सबैले मतदान गरे न्यौपानेले पराजित भए पनि सम्मानजनक १ सय २४ मत ल्याउन सक्ने आंकलन गरिएको छ । सभामुख पदमा कांग्रेस उम्मेदवार न्यौपानेले १२४ मत ल्याए आसन्न राष्ट्रपति निर्वाचनमा संसदको सबैभन्दा ठूलो दल कांग्रेस उत्साहित हुने देखिन्छ ।