काठमाडौं । वामपन्थी र समाजवादी शक्तिबीच एकता गर्न तीन दलले सक्रियता बढाएका छन् । निर्वाचन अगाडि नै यस विषयमा चर्चा सुरु भएको थियो । अहिले भने दलहरु यस विषयमा औपचारीक छलफलमा व्यस्त छन् ।
राष्ट्रपति निर्वाचनअघि नै पार्टी एकता नभए मोर्चा निर्माण गर्ने तीन दलको तयारी छ । यस विषयमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबार छुट्टाछुट्टै वार्ता भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच छलफलपछि वार्ता टोली सक्रिय भएका छन् ।
आइतबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा जसपा र एकीकृत समाजवादीका वार्ता समितिबीच छलफल भएको थियो । जसमा एकीकृत समाजवादीको तर्फबाट महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय विजय पौडेल र प्रकाश ज्वाला सक्रिय रहेका थिए । जसपातर्फबाट अशोक राई र राजेन्द्र श्रेष्ठसहितका नेताको सहभागी रहेका थिए ।
त्यसैगरी दिउँसो एकीकृत समाजवादी र माओवादी केन्द्रको वार्ता टोलीबीच माओवादी मुख्यालय पेरिसडाँडामा वार्ता भएको थियो । जसमा माओवादीका नेता कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत सहभागी थिए ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले आमनिर्वाचनअघि नै एकताका लागि एकता संयोजन समिति बनाएको थियो । प्रतिनिधिसभामा ३२ सीट रहेको माओवादी सरकारको नेतृत्व गरिरहेको छ भने १२ सीट रहेको जसपाले सत्ता गठबन्धनमा रहेको छ । मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन । १० सीट रहेको एकीकृत समाजवादी भने विपक्ष दलको रुपमा रहेको छ । यी तीन दलको एकता हुँदा संसदमा ५४ सीट हुन्छ । चुनावअघिको कांग्रेससहितको गठबन्धनमा भने ३ वटै दल एकै स्थानमा रहेका थिए ।
सत्ता समिकरणमा भुमिका विहिन माधवको एकतामा जोड
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी हाल सत्ता बाहिर छ । गत मंसिर ४ को निर्वाचनमा थे्रस होल्ड पनि कटाउन नसकेर १० सिटमा खुम्चिन परेको अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने चुनौतिको सामना गर्न पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले विभिन्न दलहरुसँग एकता र सहकार्यको प्रस्ताव गरेका हुन् । पुरानै नेताहरुको साथमा नयाँ पार्टी स्थापना गरेका उनले यहि अवस्थामा आफ्नो पार्टी संगठनलाई विकसित गर्न नसक्ने भविष्य देखेर यो पहल थालेको बुझ्न सकिन्छ ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काँधमा काँध मिलाएर वर्षौंदेखि योगदान गरेको पार्टी फुटाएका नेपाललाई अहिले “आफैले पालेको कुकुरले टोकेर गयो” भनेझै भएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पटक—पटक संसद विगठन गरेपछि प्रचण्डसँगै मिलेर आन्दोलन गर्दै पार्टी फुटाएका नेपाललाई अहिलेको सत्ता समिकरण बनाउन आवश्यक ठानिएन । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सम्म अटाउँदा नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी भने अटाएन । यो समिकरण बनाउन महत्वपूर्ण भूमिका खेलेका एमाले अध्यक्ष ओलीले नेपाल नेतृत्वको पार्टीलाई समावेश गर्न चाहेनन् ।
यसरी पार्टी राजनीतिको छेउमा परेकोले एकता र सहकार्य गर्न अध्यक्ष नेपाललाई पार्टीका नेता कार्यकताको दबाव छ । कुनै समय नेपाली राजनीतिको माहिर खेलाडी मानिने नेपाल यस पटक भने निकै निष्कृय बनेका छन् । हाल अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्र र जनता समाजवादी केन्द्रसँग छलफल अगाडि बढेको छ ।
वार्ता टोलीबीच औपचारिक वार्ता
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा संयोजकत्वको माओवादी वार्ता टोली र महासचिव डा. बेदुराम भुसाल संयोजकत्वको एकीकृत समाजवादीको टोलीबीच आइतबार पहिलो औपचारिक वार्ता भएको हो ।
वार्ता टोलीको सदस्य रहेका नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सके पार्टी एकता नभए कार्यगत एकता गर्ने गरी छलफल शुरू भएको जानकारी दिए । वामपन्थी र समाजवादी शक्तिबीच सहकार्य र पार्टी एकता गर्ने गरी दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच औपचारिक र गम्भीर ढंगले छलफल शुरू भएको बताइएको छ ।
वार्ता टोलीमा माओवादीका तर्फबाट गिरिराजमणि पोखरेल र शक्ति बस्नेत तथा एकीकृत समाजवादीका तर्फबाट ज्वाला र विजय पौडेल सदस्य छन् । वार्ता टोलीको तहमा सहमति भएपछि शीर्ष तहमा छलफल हुने नेताहरूले बताएका छन् ।
यही वार्ता टोलीले एमाले परित्याग गरेका घनश्याम भुसाललाई एकीकृत समाजवादीमा भित्राएको थियो । माओवादीसँग पार्टी एकतासम्मको लक्ष्य राखेर छलफल गरिएको ज्वालाले बताए ।
समाजवादी केन्द्रमा उपेन्द्र यादव नेतृत्वको जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई समेत समेट्ने तयारी छ । माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको पहिलो दिनको छलफलमा वैचारिक राजनीतिक विषय र पार्टीका दस्तावेज आदानप्रदान भएका छन् । आजभोलिमै पुनः दोस्रो चरणको छलफल गर्ने नेताहरूले बताएका छन् ।
जसपाले पार्टी नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य छन् । विचार मिल्नेहरूसँग पार्टी एकता गर्ने जसपाले स्पष्ट निर्णय गरेर लागि परेको छ । पूर्व एमाले समेत रहेका जसपाका संयोजक श्रेष्ठ एमालेमा हुँदा झलनाथ खनालनिकट मानिन्थे । त्यसैले एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्न श्रेष्ठलाई जिम्मेवारी दिएको बताइएको छ । साना वामपन्थी–समाजवादी दललाई पार्टीमा भित्र्याउने समाजवादीको नीति छ । माओवादी र एमालेसँग भने यथास्थितिमा एकता वा मोर्चा सम्भव नभएको समाजवादीका नेताको दाबी छ ।
एमाले बिनाको मोर्चा
तीन दलले सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेसँग भने यस विषयमा कुनै छलफल गरेका छैनन् । नेकपा एमालेले पनि पार्टी एकता गर्न खासै चाँसो देखाएको छैन । एमाले प्रवेश गर्नेलाई भने पार्टीको ढोका सधैँ खुल्ला रहेको एमाले नेताहरुले बताउदै आएका छन् ।
यसरी एमाले बिनाको मोर्चा बनाउदा एमालेलाई असहज हुने देखिन्छ । नजिकिदै गरेको राष्ट्रपति निर्वाचनमा एमालले सत्ता पक्षबाट उम्मेदवार उठाउने भनिएको छ । यसरी सत्ता गठबन्धनका अन्य घटकहरुले मोर्चा बनाउदा एमालेलाई अरुसँग शंका उत्पन्न भएको छ । आफुलाई गतिशिल नेता भन्न रुचाउने अस्थिर प्रचण्डले आफुसँग गरेका सहमति कायम राख्छन् वा राख्दैनन् भन्नेमा ओली ढुक्क छैनन् ।


प्रतिक्रिया