माओवादीले राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने

माओवादीले राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने


ग्लोब नेपाल
810
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) को विकल्प खोज्ने संकेत गरेको छ । हिजाे बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा राज्यका सबै संयन्त्र एउटै पार्टीमा जाँदा निरंकुशता जन्मिने खतरा रहेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजेर जानुपर्ने बताएका थिए ।

अध्यक्ष प्रचण्डले मन्त्रालय भागबण्डा र मर्यादाक्रममा पनि असन्तुष्टि जनाएको बुझिएको छ । उनले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुने कुरामा गम्भीर भएर सोच्नुपर्नेमा पनि जोड दिएको बताइएको छ । सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाउँदा भोलि केपी ओली प्रधानमन्त्री हुँदा आउन सक्ने परिस्थितिको मूल्यांकन आवश्यक रहेको धारणा अध्यक्ष प्रचण्डले राखेको स्रोतले उल्लेख गरेको छ ।

अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेकाे पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेको उनले बताए । पार्टी एकता र संगठन बिस्तार पनि बैठकको एजेण्डा रहेको छ ।

स्थायी कमिटीको बैठक आज शुक्रबार बिहान ११ बजे फेरि बस्दैछ ।