काठमाडौं । मधेस प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । बिहिबार जिम्मेवारी सहितको पत्र प्राप्त गरेपछि शुक्रबार बिहान नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहेका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रबार बिहानै जनमत पार्टीका मन्त्री वसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए ।
यसअघि कुशवाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएपनि अन्तिम समयमा आएर उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो । सामाजिक विकास मन्त्रालयमा अन्य सत्ता साझेदार दलहरुले समेत अडान नछोडेपछि अन्ततः यो मन्त्रालयको जिम्मेवारी कुशवाहालाई दिइएको हो ।
प्रतिक्रिया