सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर

सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा/भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन् ।

कपिलवस्तु कांग्रेसले चन्द्रौटामा सहिदको सम्झनामा आयोजना गरेको एक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता महरले थरिथरिका अनुहारको थरिथरि भूमिका भएकाले जनतामा चरम निरासा बढेको बताएका छन् ।

‘संसद भवन रहेको क्षेत्र सुरक्षाका दृष्टिकोणले उच्च सुरक्षित स्थान हो । एक नागरिकले त्यही सुरक्षा घेराबीच संसद भवनको मूल गेटमै आत्मदाह गर्नू निकै निराशाको कुरा हो । यो क्रम बढ्दो छ । सरकारले आफ्ना नागरिकप्रति गम्भीर भएर सोच्नुपर्नेमा सरकारमा बस्ने व्यक्तिहरू नै विभिन्न मुद्दा र काण्डमा मुछिएका कारण जनताले भरोसा गर्ने ठाउँ देखिँदैन,’ उनले भने।

नयाँ शक्ति र युवाको नारा दिएर सत्तामा पुगेकाहरू नै पछिल्ला दिनमा एकपछि अर्को काण्डमा मुछिँदै विवादित बन्नुले उनीहरूभित्र लुकेको स्वार्थ छरपस्ट भइरहेको महरले आरोप लगाए ।

यस्तो अवस्थामा कांग्रेस जनताको विश्वासिलो पार्टी बनेर उभिनुपर्ने उनको धारणा छ । ‘कांग्रेस एकमात्र त्यस्तो पार्टी हो जो सधैँ जनताको सुखदुस्खमा साथमै उभियो । फेरि हामी जनताको ढाडस बनेर उभिनुपर्ने बेला आएको छ । जनताको चरम निराशालाई कांग्रेसले सम्बोधन गर्न सक्नुपर्छ । र, कांग्रेस सो दिशामा अग्रसर पनि हुन्छ । तपाईंहरू कांग्रेसमाथि भरोसा गर्नुहोला,’ नेता महरले भने ।

उनले मुलुकको समृद्धिका लागि सहिदहरूले प्राणको आहुति दिएको स्मरण गर्दै सरकार सहिदको त्याग, बलिदानी र सपनाप्रति जिम्मेवार हुनुपर्ने धारणा राखे । नेताहरूको मुलुकको विकास र जनताप्रतिको समर्पण भएमात्र सहिदहरूप्रतिको सच्चा सम्मान हुने बताए ।

हिजो सत्ता बाहिर हुँदा ठूलो-ठूलो स्वरमा कराउनेहरू अहिले लम्पसार बनेको देख्दा दोहोरो भूमिकाले उनीहरूको चरित्र छरपस्ट हुँदै गएको महरको टिप्पणी छ ।