गुम्यो रविको उपप्रधान एवं गृहमन्त्री, सांसद र रास्वपाकाे सभापति पद

गुम्यो रविको उपप्रधान एवं गृहमन्त्री, सांसद र रास्वपाकाे सभापति पद


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेसँगै उनको उपप्रधान एवं गृहमन्त्री, सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वत: खारेज हुने भएको छ । नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ । लामिछानेको नागरिकता कायम नरहेपछि उनी कुनै पनि दलको सभापति रहन अयोग्य भएका छन् ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसलासँगै उनको पद पुगेको हो । मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो ।

इजलासमा कामु प्रधानन्यायाधीश कार्की तथा न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा थिए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्री बनेका हुन् ।