राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेससँग छलफल गर्ने

राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेससँग छलफल गर्ने


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी राष्ट्रपतिको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलसँग छलफल गर्ने निर्णय गरेको छ । शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निष्कर्षसहित कांग्रेससँग छलफल गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत दुई दलबाहेक सबैले दिएको कारणले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने जिम्मेवारी माओवादी केन्द्रको रहेको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको यस्तो निर्णयसँगै अर्को सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) असन्तुष्ट भएको छ । सत्तारूढ दलबीच भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने हो । कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठाएको हो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचन सहमतिमै गर्न ३ माघमा आफूलाई विश्वासको मत दिने दलका बीचमा छलफल गरेका थिए । त्यही समयदेखि एमाले प्रचण्डबाट असन्तुष्ट भएको छ । सोही कारण प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पूर्वसहमति कार्यान्वयनका विषयमा हरेक भेटमा छलफल हुँदै आएको छ ।