विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो पार्टी भएकाले कुनै पनि दिन कांग्रेस सत्तामा आउन सक्ने बताएका छन् । नेकपा एमालेका कारण माओवादी केन्द्रले सत्ता नेतृत्व गर्ने अवसर पाएको भन्दै कोइरालाले पछिल्लो घटनाले भने कांग्रेस वृतमा निरासा छाएको बताए ।
विराटनगरमा शनिबार नेपाल प्रेस युनियन प्रदेश–१ को पहिलो अधिवेशन उद्घाटन गर्दै कोइरालाले देशको राजनीतिक अवस्था र कांग्रेसको राजनीति पनि कठिन अवस्थामा रहेको बताए ।
सरकारलाई समर्थन गर्ने विषयमा आफूले तटस्थ बस्न आग्रह गरेको बताउँदै कोइरालाले भने, “गृहमन्त्रीले राजीनामा दिनु परेको छ । अब भोलि कसरी बढ्नुपर्ने भन्ने अवस्था आएको छ । हिजोको घटनाले देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ । न्यायपालिका सबल भएको देखिन्छ ।”
फागुन २८ अगाडि नै राष्ट्रपतिको निर्वाचन हुन पर्ने भन्दै नभए अनिष्ट हुने कोइरालाको भनाइ छ । “कांग्रेसको राष्ट्रपति हुनुपर्छ हामीले पाँच वर्ष हेरिरसक्यौं, बजेट संसदमा पेस भएन । नागरिकता विधेयक रोकियो,” उनले भने, “संविधानभन्दा राष्ट्रपति माथि हुँदैन । तर, जसलाई जे मन लाग्यो त्यो गरेको देखिन्छ ।”


प्रतिक्रिया