रवि पुनः गृह मन्त्रालय फर्किएलान् ?

रवि पुनः गृह मन्त्रालय फर्किएलान् ?



काठमाडौं । झुट्टा विवरण पेस गरेर चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रक्रिया पूरा गरेर पुनः नागरिकता प्राप्त गरेका छन् । सर्वोच्च अदालतले गत १३ माघमा प्रक्रिया पूरा नगरी त्याग गरेको नागरिकता उपयोग गरेर सांसदमा निर्वाचित भएको ठहर गरेको थियो ।

अदालतले दोषी ठहर गरेसँगै उनले सांसद, मन्त्री र पार्टी सभापति पद गुमाएका थिए । आज आइतबार लामिछानेले प्रक्रिया पूरा गरेर काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता पुनः प्राप्त गरेका छन् । लामिछानेले नागरिकता प्राप्त गरेसँगै उनी पुनः मन्त्रालय फर्किन्छन् कि फर्किदैनन् भन्ने जिज्ञासा सर्वत्र छाएको छ ।

पार्टी नेतृत्वमा त उनी स्वभाविक रुपमा फर्किए । तर उपप्रधानसहितको गृहमन्त्रालयमा पनि सजिलै फर्किएलान् भन्ने प्रश्न लामिछानेका लागि पेचिलो बन्ने देखिएको छ । लामिछानेको राजनीतिक दल रास्वपा सत्ता साझेदारीमा महत्वपूर्ण हिस्सा भएकाले उनी तुरुन्तै फर्किने तयारी गरिरहेका छन् । नागरिकता प्राप्त गरेसँगै पार्टी केन्द्रीय समितिको बैठक बोलाएर पुनः पार्टी नेतृत्व लिएका मात्र छैनन्, गृहमन्त्रालय नछाड्ने अभिव्यक्तिसमेत दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग ‘गृह मन्त्रीमा मलाई नियुक्ति गर’ भन्ने नैतिकता यतिबेला रविसँग रहेको छैन । अदालतले दोषी ठहर गरेर पद गुमाएको व्यक्तिलाई पुनः गृहमन्त्रालयको जिम्मेवारी दिँदा राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी के होला ? अर्को तर्फ दोहोरो राहदानीको मुद्धा प्रहरी अनुसन्धानमै रहेकोले फेरी गृहमन्त्री बन्ने नैतिक धरातल रवि लामिछानेसँग रहेको छैन । यो मुद्धा निरुपण नभई रविका लागि गृहमन्त्रालयको ढोका खुल्ला होलाजस्तो देखिँदैन ।

यी र यस्ता प्रश्न अगाडि हुँदाहुँदै रवि जति हतार गरेर गृहमन्त्रालय छिर्न खोज्दैछन्, उनको राजनीतिक यात्रा त्यत्ति नै पेचिलो बन्ने देखिन्छ । रास्वपाप्रति सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र नरम हुने हो भने उनलाई उपप्रधानसहित पुनः गृहमन्त्रालय प्राप्त गर्न कुनै आइतबार पर्खिनु पर्दैन । तर रास्वपाप्रति एमाले र माओवादी नरम हुने देखिँदैन । राज्यलाई ढाँटेर सांसद निर्वाचित भएको व्यक्तिलाई गृहजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिँदा गठबन्धन सरकार बद्नाम हुने भय छ भने अर्कोतर्फ मन्त्रिपरिषद्मा उनको केटौलीपनाले सरकार पटक–पटक लज्जित हुनु परेको तीतो यथार्थ प्रधानमन्त्री पुष्पकमल दाहालले छोटो अवधिमै भोगिसकेका छन् ।

कुरा यतिमै टुंगिँदैन, अवैध नागरिकता उपयोग गरेर रविले गरेका काम कारबाही के हुने भन्ने प्रश्न जति सजिलोसँग उठान हुन्छ, व्यवहारिक पक्ष पनि त्यत्तिकै कठिन छ । मुख्यगरी अवैध नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएको विषयले रविलाई त्यत्ति सजिलै उन्मुक्ति दिन्छ भन्ने कुरा मान्न जोकोही तयार छैनन् ।

रविलाई पुनः गृहमन्त्रालयमा नफर्काउने गठबन्धन सरकारले संकेत गरिसकेको छ । यही संकेत पाएर नै रास्वपाका जिम्मेवार व्यक्तिबाट गृहमन्त्रालय नछाड्ने अभिव्यक्ति आएको हो । यता, प्रधानमन्त्री दाहालले आफ्नै पार्टीको नेतालाई गृहमन्त्री बनाउन जोडबल गरिरहेको बुझिएको छ ।