एमालेलाई राष्ट्रपति दिने सहमतिबाट माओवादी पछि हट्दैन : उपमहासचिव ज्ञवाली

एमालेलाई राष्ट्रपति दिने सहमतिबाट माओवादी पछि हट्दैन : उपमहासचिव ज्ञवाली


ग्लोब नेपाल
162
Shares

गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेबाटै राष्ट्रपति बनाउने सहमतिमा नेकपा माओवादी केन्द्र पछि नहट्ने दाबी गरेका छन् ।

नेकपा एमाले गुल्मीको छैठौं पूर्ण बैठकलाई तम्घासमा आइतबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले राष्ट्रपति निवास शितलनिवासमा सरकारका लागि दाबी पेस गर्दा राष्ट्रपति र सभामुख एमालेलाई, प्रधानमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमतिमा अरु दल पनि राजी भएको बताए ।

उनले उक्त सहमतिका आधारमा पनि नेकपा माओवादी केन्द्र आफ्नो निर्णयमा पछि नहट्ने बताएका हुन् । नेता ज्ञवालीले नेपाली कांग्रेसले दुई दलका बीचमा खेल्न खोज्न स्वभाविक भएको तर प्रतिपक्षमा बसेर सत्तामा भाग खोज्ने कुरा आश्चर्यजनक भएको बताए ।

उनले शक्तिकेन्द्रहरुले राष्ट्रपति आफू अनुकुल ल्याउनका लागि चलखेल भइरहेको पनि जिकिर गरेका थिए । यस्तै सरकारले प्रदेशका मन्त्रालयहरुको संख्या घटाएर राम्रो सन्देश दिएको पनि उनको भनाइ छ ।

‘यो सरकारले सन्देश राम्रो दिएको छ, न्यूनतम सझा कार्यक्रम राम्रो छ, शेयरबजारमा राम्रो संकेत दिएको छ,’ उनले भने ‘व्यवसायमा राहत महशुस देखिएको छ, सत्ता टिकाउन यसअघि प्रदेशमा झ्यालमा मन्त्रालय रहेको अवस्थामा अहिले १६ मन्त्रालय घटाएर सुरूवाती सन्देश दिएको छ ।’