भाजपा नेतृद्वारा प्रधानमन्त्री र देउवासँग भेटवार्ता

भाजपा नेतृद्वारा प्रधानमन्त्री र देउवासँग भेटवार्ता


ग्लोब नेपाल
459
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका लागि आफू प्रतीक्षारत रहेको बताएका छन् । नेपालको अनौपचारिक भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया ईल्मीसँग आइतबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीप्रति सम्मान व्यक्त गरेका छन् ।

प्रवक्ता ईल्मीले आइतबारै काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस नेता एवं पूर्व मन्त्री सुनिलबहादुर थापासँग भेटेकी थिइन् । प्रधानमन्त्रीसँगको भेटपछि ईल्मीले ट्विटरमा लेखेकी छिन्, ‘दाजु सुनिलबहादुर थापासहित नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँमा भेट्न पाउँदा गर्व लागेको छ । उहाँले हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो स्नेह र सम्मान व्यक्त गर्नुभयो । उहाँ भारत भ्रमणका लागि प्रतीक्षारत हुनुहुन्छ ।’

काँग्रेस नेता थापाका अनुसार भाजपा नेतृ ईल्मीले संसदमा सबै दलको विश्वास प्राप्त गरेकोमा बधाई दिँदै त्यही मतको सन्देश अनुसार उनले सबैलाई मिलाएर अघि बढ्ने विश्वास व्यक्त गरेकी थिइन् । प्रधानमन्त्री प्रचण्डले भारतसँग नेपालले गहिरो समझदारी र साझेदारी गरेर अघि बढ्न चाहेको बताएका थिए । जलश्रोत र जलविद्युत विकासलगायत विभिन्न क्षेत्रमा भारतसँग सहकार्य गरेर अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

सभापति देउवा र आफूसँगको भेटमा नेपाल र भारतबीच राजनीतिक दलहरू सम्बन्ध सुदृढीकरणमा जोड दिइएको थापाले बताए । तीन दिनअघि आएकी प्रवक्ता ईल्मी आइतबार अपराह्न दिल्ली फर्केकी छन् ।