२ दिने भ्रमणमा काठमाडौँ आइपुगिन् अमेरिकी उपविदेशमन्त्री

२ दिने भ्रमणमा काठमाडौँ आइपुगिन् अमेरिकी उपविदेशमन्त्री

सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने


ग्लोब नेपाल
432
Shares

काठमाडौँ । अमेरिकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौं आइपुगेकी छन् । वासिङ्टन डिसीबाट सिधै नेपाल आएकी उपमन्त्री नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्ने बताइएकाे छ ।

दुई दिने नेपाल भ्रमणमा नुल्यान्डले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ताघटक दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छिन् । नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो ।

‘नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबीचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनुहुनेछ,’ काठमाडौँस्थित अमेरिकी दूतावासले भनेको छ, ‘साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नुहुनेछ।’ नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन्।