काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएका छन् ।
सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग नेता महराले यस्तो प्रतिक्रिया दिएका हुन् । आगामी बुधबार बस्ने स्थायी समिति बैठकमा पनि गृहमन्त्रीबारे छलफल हुने उनले बताए ।
गृहमन्त्री सरकारको भएकाले कसलाई बनाउने भन्ने टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीको रहेको भन्दै उनले बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे पनि छलफल हुने जानकारी दिएका हुन् ।
नेपाली नागरिकताले वैधानिकता नपाएपछि रवि लामिछाने पदमुक्त भएसँगै गृहमन्त्री पद रिक्त रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।
तर, गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले नै पाउनुपर्ने अडान लिएको छ भने उसलाई एमाले पनि साथ दिएको छ । तर, गृहमन्त्रालय आफैंसँग राख्ने माओवादीको पनि तयारी छ ।
सोमबार बसेको पदाधिकारी बैठकबाट बाहिरिने क्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री बनेपछि मात्र को बन्ने भन्ने थाहा हुने प्रतिक्रिया दिएका छन् । कसलाई गृहमन्त्री बनाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले बनेपछि थाहा हुने बताए ।
पार्टी मुख्यालयमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकमा संगठनसहितका विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिए ।
प्रतिक्रिया