साइडलाइन बैठकमा सार्कलाई सक्रिय बनाउन छलफल गर्छौं : परराष्ट्रमन्त्री

साइडलाइन बैठकमा सार्कलाई सक्रिय बनाउन छलफल गर्छौं : परराष्ट्रमन्त्री


ग्लोब नेपाल
189
Shares

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकामा सार्क समकक्षीहरुसँग हुने साइडलाइन बैठकमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल गर्ने बताएकी छन् । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौड्यालले श्रीलंकामा सार्कको विषयमा छलफलका लागि भेला नभए पनि समकक्षीहरुसँग हुने भेटमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल हुने बताइन् ।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल बुधबार कोलम्बो जाँदैछिन् । सो समारोहमा सहभागी हुन आउने सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरुसँग साइडलाइन बैठक गर्ने तयारी रहेको उनले बताइन् ।

सार्क अध्यक्ष राष्ट्रको रुपमा नेपालले यसअघि पनि सार्कलाई सक्रिय बनाउने विषयमा पहल गर्दै आएको छ । यद्यपि भारत र पाकिस्तानको विवादका कारण यो विषय निष्कर्षमा पुग्न सकिरहेको छैन ।

भारत र पाकिस्तानको विवादकै कारण इस्लामावादमा २०१६ मा हुनुपर्ने सार्क शिखर सम्मेलन रोकिँदै आएको छ । भारतले पाकिस्तानले सीमापार आतंकवादलाई बढावा दिने काम गरेको भन्दै आतंकवाद र छलफल सँगसँगै जान नसक्ने बताउँदै आएको छ । पछिल्लो सार्क शिखर सम्मेलन सन् २०१४ मा नेपालमा भएको थियो ।