रविसँग अहिले पनि दोहोरो नागरिकता !

रविसँग अहिले पनि दोहोरो नागरिकता !



राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग अहिले पनि अमेरिका र नेपालको नागरिकता रहेको छ । अमेरिकामा नागरिकता लिन सजिलो भए पनि सम्पूर्ण दायित्व पूरा गरेपछि मात्र त्याग्न पाइने त्यहाँका कानून व्यवसायीहरुले बताएका छन् । लामिछानेले ती दायित्व पूरा गरिनसकेको कारण अमेरिकाले नागरिकता त्यागेको निस्सा नदिएकाले उनीसँग अहिले पनि दुई देशको नागरिकता रहेको जानकारहरु बताउँछन् ।

अमेरिकामा अन्य देशको नागरिकता नत्यागे पनि त्यहाँको नागरिकता लिन सकिन्छ । अमेरिकी नागरिकता प्राप्त गरिसकेपछि त्याग्नलाई निश्चित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रकृया पूरा नगरेसम्म नागरिकता त्यागेको निस्सा उसले दिँदैन । अमेरिकी नागरिकता त्यागेको निस्सा नभए पनि रविले गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौबाट पुनः नेपाली नागरिकता प्राप्त गरेका छन् । यतिबेला उनीसँग दुई देशको नागरिकता छ ।

२०५० साल फागुन १० गत काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता प्राप्त गरेका रविले २०७० फागुन ९ गते अमेरिकी नागरिकता र २१ गते राहदानी प्राप्त गरेका थिए । उनले त्यही पासपोर्ट बोकेर २०७१ जेठ २२ मा अमेरिकी नागरिक गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए । उनी त्यसपछि अमेरिका फर्किएनन्, नेपालमै सञ्चार माध्यममा काम गर्न थाले ।

श्रम स्वीकृति नलिइ नेपाली सञ्चार माध्यममा काम गरेपछि २०७५ सालमा प्रेस काउन्सिलले उनलाई कारबाही अगाडि बढायो । प्रेस काउन्सिलसँग द्वन्द्वपछि रविले २०७५ जेठ ४ गते अब सदाका लागि नेपालमै बस्ने घोषणा गर्दै अमेरिकी नागरिकता र राहदानी त्यागेको सार्वजनिक घोषणा गरे ।

उनले अमेरिकी कागजपत्र काठमाडौंस्थिति अमेरिकी दूतावासमा बुझाएको र अमेरिकी स्टेट डिपार्टमेन्टले उनको निवेदन स्वीकार गरेको लिखित जानकारी असार ६ गते अध्यागमन विभागलाई दिए । असार १४ मा अमेरिकी स्टेट डिपार्टमेन्टले उनको निवेदन स्वीकार गरेको बताइएको छ ।

रविले अध्यागमन विभागमा बुझाएको निस्सा नै शंकास्पद रहेको बताइन्छ । यदि उनीसँग त्यो निस्सा भइदिएको भए रविलाई नेपालको नागरिकता पुनः प्राप्त गर्न केही कुराले छेक्दैन थियो । यदि उनीसँग नागरिकता त्यागेको निस्सा भएको भए त्यही बेला प्रकृयामा जान्थे, जतिबेला उनको प्रेस काउन्सिलसँग विवाद चलिरहेको थियो । त्यत्ति मात्र होइन, सर्वोच्च अदालतको संवैधानिक इजलासमा नागरिकता त्यागेको निस्सा प्रस्तुत गरेको भए पनि फैसला उनको पक्षमा आउन सक्ने सम्भावना हुन्थ्यो भनेर जानकारहरु बताउँछन् ।

अमेरिकी नागरिकता र राहदानी हुँदाहुँदै नेपाली राहदानी बनाइएको विषय छानविनको घेराभित्र छ । रविको राहदानी प्रकरणमा ‘किर्ते जालसाजी’ मुद्दा चल्नसक्ने पर्याप्त आधार छ । अमेरिकी राहदानी हुँदाहुँदै नेपाली राहदानी समेत लिएको बिषय फौजदारी कसुर अन्तर्गत पर्दछ ।

रविसँग किन भएन निस्सा
अमेरिकाले जुनसुकै देशको नागरिक आए पनि निश्चित प्रकृया पूरा गरेपछि अमेरिकी नागरिकको रुपमा स्वीकार गर्छ । अमेरिकी नागरिकता प्राप्त गरिसकेपछि त्याग्न भने सजिलो छैन । नागरिकता त्याग्ने व्यक्तिले कुनै वक्यौता राख्न हुँदैन, जिम्मेवारीबाट भागेको हुनु हुँदैन, कुनै फौजदारी अभियोग लागेको हुनु हुँदैन लगायतका शर्तहरु राखिएको हुन्छ ।

वक्यौता र पारिवारिक जिम्मेवारीबाट अमेरिकी नागरिकले पूरा गर्नुपर्ने कर्तव्यबाट च्यूत भएकाले रविले नागरिकता त्यागेको निस्सा डिर्पाटमेन्ट अफ स्टेटबाट पाउन सकेका छैनन् । पहिलो श्रीमतिबाट जन्मेका सन्तानलाई अभिभावकले पूरा गर्नुपर्ने जिम्मेवारीबाट भागेको तथा बैंकिङ रकम अपचलन गरेको आरोप लागेकाले रविले नागरिकता त्याग गरेको निस्सा प्राप्त गर्न नसकेको बताइएको छ ।

उनीसँग अमेरिकी नागरिकता त्याग गरेको निस्सा छैन भन्ने कुरा अमेरिकी दूतावासले नै प्रमाणित गरिसकेको छ । राज्यले मागेको कागजपत्र उपलब्ध गराउन अमेरिकी दूतावासलाई पटक पटक आग्रह गर्दा पनि उपलब्ध नगराउनुको अर्थ रविसँग नागरिकता त्यागेको निस्सा छैन भन्ने स्पष्ट हुन्छ ।

रविले अमेरिकी नागरिकता त्याग गरेको निस्सा डिपार्टमेन्ट अफ स्टेटले नेपाली दूतावासलाई पनि उपलब्ध गराउन सकेको छैन । अमेरिकी विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई पनि उपलब्ध गराउन सकेको छैन ।

अमेरिका आफ्ना नागरिकको बारेमा स्पष्ट छ, कानून भन्दा बाहिर गएर निर्णय गर्दैन । नेपालमा भने पद र प्रतिष्ठा हत्याउन एकपछि अर्को कानून मिचेको नेपाली नागरिक टुलुटुलु हेरेर बस्न बाध्य छन् । संचारकर्मी, समाजसेवी, सेलिब्रिटीको खोल ओढेर राजनीति संरक्षणमा हुने यस्ता घटना प्रतिनिधि हुन् । खोज्दै जाने हो भने नैतिकता र कानूनी राज्यको दुहाइ दिनेहरु नै कानूनको धज्जी उडाउने प्रशस्त भेटिन्छन् ।

त्यसैको सिलसिलामा गैह्र सांसद हुँदाहुँदै, दोहोरो राहदानीको मुद्धा किनारा नलाग्दै सबैलाई भ्रमित पारेर लामिछानेलाई गृह मन्त्रालय नै चाहिनुको पछाडि स्वार्थ रहेको स्पष्टै हुन्छ । गृहमन्त्री भएमा प्रहरीको अनुसन्धान प्रभावित गर्ने र आफू अनुकुल निर्णय गराएर उम्किन उनी आतुर देखिएका छन् । वैकल्पिक राजनीतिको दुहाइ दिदै युवाको सपनामा लामिछानेले खेलवाड गरिरहँदा पनि त्यहि पार्टीमा रहेका आशा लाग्दा युवा नेताहरु समेत निरिह देखिनु दुर्भाग्यपूर्ण छ ।