रास्वपाले सरकार छोड्न लागेको हो ?

रास्वपाले सरकार छोड्न लागेको हो ?


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छोड्ने संकेत गरेको छ । यसै विषयमा छलफल गर्नका लागि आज अपराह्न साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बोलाइएको हाे ।

रास्वपाका महामन्त्री मुकुल ढकालले पार्टीले वर्तमान राजनीतिक ‘कोर्स करेक्सन’ को निर्णय लिन लागेको बताएका छन् । पुराना दलहरुको कार्यशैलीको विरोध गरेर उदाएको रास्वपाको गतिविधि पनि उस्तै भएपछि पछिल्लो समय आलोचना हुन थालेको छ । उदाउँदै गरेको पार्टीमा विभिन्न कारणले सत्ता स्वार्थको प्रश्न उठ्न थालेपछि सरकारमा सहभागिताबारे पार्टीले निर्णय लिने बेला आएकोले बैठकमा छलफल गरिने बताइएको छ ।

वर्तमान राजनीतिले रास्वपालाई खेलमा पारेको भन्दै अब त्यसमा सहभागी नहुने सम्भावना रहेको ढकालको भनाइ छ । ‘हामीले जनताको पक्षमा धेरै सम्झौता गर्‍यौं । केही न केही परिवर्तन चाँडो गर्नुपर्छ भन्ने थियो । राजनीतिक कम्प्रोमाइज गर्न हुन्न भन्ने थियौं । देश र जनताको पक्षमा काम गर्न सकिँदैन रहेछ, यसरी हुँदैन भन्ने हो,’ उनले भने, ‘परिवर्तनको पक्षमा कहिँ केही पनि छैन । हामीले एउटा त्रुटि भए पनि सच्याइसकिएको स्थिति छ । यो राजनीतिक खेलमा यताउति भएन । जनताको गृहमन्त्री छैन आज, यसरी त कसरी हुन्छ ?’ केन्द्रीय समिति र संसदीय दलको बैठकले गरेका निर्णय सरकारमा सहभागी मन्त्रीले पनि मान्ने ढकालको भनाइ छ ।

रास्वपाका केही नेताहरु भने सरकार छाड्न नहुने पक्षमा देखिएका छन् । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्कालै सरकार छड्न नहुने बताएका छन् । ग्लाेब नेपाललाई प्रतिक्रिया दिँदै उनले भने, ‘जनतालाई डेलिभरी दिनुपर्ने बेलामा सरकार छोड्दा म्यासेज राम्रो जाँदैन् ।’

सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ । नागरिकता पुनः प्राप्तिपछि उनी पुनः सरकारको गृहमन्त्रीमा फर्कन दौडधुप गरिरहेका छन् । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताउदै आएका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने तत्काल गृह मन्त्रालय रास्वपालाई नदिने अडानमा छन् ।