टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै संकटकाल घोषणा

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै संकटकाल घोषणा

टर्की र सिरियामा हालसम्म दुई सय जनाको मृत्यु


ग्लोब नेपाल
648
Shares

काठमाडौं । टर्कीमा सोमबार बिहान शक्तिशाली भूकम्प गएकाे छ । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको हाे । टर्की सरकारले देशमा संकटकालको घोषणा गरेको छ ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने ४ सय ४० भन्दा बढी मानिस घाइते भेटिएका छन् ।

यस्तै, सिरियामा पनि भूकम्पले मानवीय क्षति पुर्‍याएको छ । त्यहाँ एक सय जनाभन्दा बढी मानिसको भूकम्पबाट मृत्यु भएको सिरियाका सरकारी सञ्चारमाध्यमले एएफपीलाई बताएका छन्।

भूकम्पमा भत्किएका भवनहरूबीच मानव उद्धारको काम भइरहेको टर्कीका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने उनीहरुको दाबी छ ।

सोमबार बिहान सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा गएको थियो । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरका साथै सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको थियो ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्पकमा परेकाको उद्धार र राहतका लागि विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत सहयोग र राहतको प्रतिबद्धता जनाउनुका साथै समवेदना प्रकट गरेका छन् ।