काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान टर्कीमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे दक्षिणी टर्कीलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । पछिल्लो विवरणअनुसुार उक्त भूकम्पमा परेर २ सय जना मानिसको ज्यान गएको छ ।
सो घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका हुन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले टर्कीमा गएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेका हुन् । साथै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गरेका छन् ।
‘टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले फेसबुकमा लेखेका छन् ।
सो भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति गरेको छ । लगातार पराकम्प आइरहेकाले उद्धारमा समस्या भएको छ भने मृतकको संख्या बढ्ने अनुमान उद्धारकर्मीहरुले बताएका छन् ।
प्रतिक्रिया