मानव बेचबिखन मुद्दामा पाण्डेलाई ७ वर्ष कैद

मानव बेचबिखन मुद्दामा पाण्डेलाई ७ वर्ष कैद


ग्लोब नेपाल
27
Shares

काठमाडौं । सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसीलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार न्यायाधीश ढकालको इजलासले मानव बेचबिखन ऐनको दफा ४ उपदफा २ को (ख) बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा १५ (१) को (छ) अनुसार सात वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिलाउने फैसला गरेको हो ।

सरकारी वकिलको कार्यालय काठमाडौंले भने पाण्डेलाई १० देखि १२ वर्ष कैद सजाय र ५० हजारदेखि एक लाख रूपैयाँसम्म क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको थियो । यसअघि नै बाल यौन दुर्व्यवहारमा जिल्ला अदालतले पाण्डेलाई ६ महिना कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेश गरेको थियो ।

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताकी सहभागी किशोरीलाई उनले बलात्कार गरेको आरोप लागेको थियो । उनले आफूमात्र होइन आफ्ना साथीहरूलाई समेत उनीमाथि बलात्कार गर्न लगाएको खुलेपछि प्रहरीले मानव बेचबिखनमा अनुसन्धान गरेर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मानव बेचविखन गरेको र बाल यौन दुराचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।