काठमाडौं । एक विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।
थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकाकारी दिए ।
घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको प्रवक्ता केसीले बताएका छन् । निलम्बनको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको छ । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए ।
यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।
प्रतिक्रिया