१० ठाउँमा घुस खुवाउनुपर्ने व्यवस्था अन्त्य गर्छौं : पर्यटनमन्त्री किराँती

१० ठाउँमा घुस खुवाउनुपर्ने व्यवस्था अन्त्य गर्छौं : पर्यटनमन्त्री किराँती


ग्लोब नेपाल
405
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

मन्त्री किराँतीले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए । महाप्रवन्धक ठाकुरले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै थाई एयरवेजसँग करोडौं घुस लिने गरेकाले निलम्वन गरिएको बताए । यस्तै उनले आफूले कसैको एक पैसा पनि नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए ।

पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने मन्त्री किराँतीको भनाइ छ । उनले सुशासन विधिको शासनभन्दा बाहिर कोही पनि चल्न नसक्ने बताएका थिए । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उनको भनाइ थियो ।

मन्त्री किराँतीले भने, ‘सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त होइन । यो मन्त्रीले पैसा खाँदैन । मन्त्रीलाई पैसा मन पर्दैन । ढुक्कसँग काम गनुस् । सरकारले अप्रिय निर्णय आज मात्रै गरेर आउनुपर्‍यो । विमानस्थलको निर्देशकलाई भर्खरै निलम्वन गरेर आएँ । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछन् । करोडौं रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ । मन्त्रीलाई पैसा बुझाउनु पर्ने, कहिले कहिले बुझाइयो ? क–कसलाई बुझाइयो ? त्यो स्पष्ट हुनुपर्छ । पैसा खानको निम्ति मन्त्री आएको हो भने जनताले सजाय गर्नुपर्छ । कुर्सीमा बसेर देशलाई धोका दिन पाइँदैन । कृपया कसैको पैसा चाहिँदैन । तपाइँहरूले आफ्नो क्षमता योग्यता प्रदर्शन गर्नुस् । सञ्चालक समितिका साथीहरु नीतिमा काम गर्नुस् । कर्मचारी जस्तो नहुनुस् । तपाइँहरूलाई नीति बनाउन पठाएको हो ।’