विद्यार्थीको जन्मदिनमा संकलित रकम दुर्गमका विद्यालयलाई सहयोग

विद्यार्थीको जन्मदिनमा संकलित रकम दुर्गमका विद्यालयलाई सहयोग



भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिका–२ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले दुर्गम क्षेत्रका तीन विद्यालयललाई पुस्तक सहयोग गरेको छ । 

एभरेष्ट स्कुलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको जन्मदिनमा संकलित रकमबाट खरिद गरिएका पुस्तक दुर्गम क्षेत्रका सरकारी विद्यालयलाई सहयोग गरेको हो । एभरेष्ट स्कुलले सिन्धुपाल्चोक, मकवानपुर र चितवनको दुर्गम क्षेत्रमा रहेका तीनवटा सरकारी विद्यालयलाई दुई/दुई लाख रुपैयाँभन्दा वढी रकमको पुस्तक सहयोग गरेको हो ।

एभरेष्ट स्कुलको ४०औं वार्षिकोत्सवको अवसरमा ती पुस्तकहरु हस्तान्तरण गरिएका हुन् । मादी ५ रमाइलोडाँंडास्थित दिवाकर स्मृति माध्यमिक विद्यालय चितवन, इन्द्रवती १२ भीमटारस्थित भीमेश्वर माध्यमिक विद्यालय सिन्धुपाल्चोक र बागमती ६ रातोमाटेस्थित जनहित आधारभूत विद्यालय मकवानपुरलाई पुस्कक हस्तान्तरण गरिएको हो । 

एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले प्रत्येक वर्ष वर्षभरिमा स्कुलका विद्यार्थीको जन्मदिन रकमबाट जम्मा भएको पैसाबाट दुर्गम स्कुलका सरकारी विद्यालयहरुमा पुस्तकालय स्थापना गर्न पुस्तक सहयोग गरी हस्तान्तरण गर्दै आएको जानकारी दिए । 

हालसम्म देशका २३ जिल्लाका २४ विद्यालयहरुलाई पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरिसकेको उनले जनाए ।