उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच रक्सौल-काठमाडौं रेलवेबारे छलफल

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच रक्सौल-काठमाडौं रेलवेबारे छलफल



काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच रक्सौल-काठमाडौं रेल्वेबारे प्रारम्भिक छलफल भएको छ । दुई दिने भ्रमणमा आएका क्वात्राले मंगलबार बिहान उपप्रधानमन्त्री श्रेष्ठसँग मन्त्रालयमै शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेलवे, आर्थिक समृद्धि, नेपाल-भारतबीच भएका सन्धि–सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा राखेको उनको सचिवालयले जानकारी दिएको छ ।

भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर-कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राखेका थिए । जयनगर-कुर्था रेलको सञ्चालन भारतीय कम्पनी ‘केआरसिएल’ ले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाएका हुन् ।

क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिन आग्रह गरेका थिए । जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले आफूहरूले त्यसलाई अघि बढाउने प्रतिबद्धता जनाएकाे बताइएकाे छ ।