माइतीघरमा धर्ना बसिरहेका बाँकेका महिलाहरु र सरकारबीच ३ बुँदे सहमति

माइतीघरमा धर्ना बसिरहेका बाँकेका महिलाहरु र सरकारबीच ३ बुँदे सहमति



काठमाडौं । माइतीघरमा धर्ना बसिरहेका महिलाहरू र सरकारबीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि आज मङ्गलवार गृह मन्त्रालयमा भएको छलफलपछि सरकार र धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको हो ।

सहमतिअनुसार बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको छ । त्यस्तै अनुसन्धान प्रक्रिया समीक्षा गर्न धर्नारत महिलाहरूले राखेको न्यायिक आयोग गठनको मागलाई तत्काल थाती राखेर धर्ना स्थगित गर्ने र धर्नामा रहेका महिलाहरूको सुरक्षाका लागि सरकारले समन्वय गर्ने सहमति भएको छ ।

बाँकेबाट काठमाण्डौ आएर ४८ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका महिलाहरूले सहमतिपछि धर्नाका कार्यक्रम स्थगित गरेका धर्नाको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खानले बताएकी छन् ।