गोंगबु घटनाको तत्काल छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

गोंगबु घटनाको तत्काल छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो बोलाएर घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस् ।’ प्रधानमन्त्रीले भने, ‘लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस् ।’

गत सोमबार नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुरसहितको आन्दोलनका क्रममा दुईवटा प्रहरी भ्यान, प्रहरी बिटमा आगजनी तथा मोबाइल पसल चोरी भएको थियो । साथै करिब तीन दर्जन जति सुरक्षाकर्मी घाइते भएका छन् । 

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताएका थिए ।

छलफलमा उनीहरूले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बिच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गरेका थिए ।