संसद भवन अगाडिबाट बिनु यादवसहित ५ जना पक्राउ

संसद भवन अगाडिबाट बिनु यादवसहित ५ जना पक्राउ



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । न्यायको माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्ने बिनु यादवसहित पाँच जनालाई प्रहरीले संसद भवन अगाडिबाट पक्राउ गरेको हो ।

बिनुसहितको साथबाट दुई लिटर पेट्रोल र टायर पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम कोइरालाले जानकारी दिए ।

बिनुले श्रीमानबाट आफू पीडित भएको भन्दै निरन्तर न्यायको माग गरी आन्दोलन गर्दै आएकी छन् । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

उनले श्रीमान रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् । पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् ।