ओखलढुंगामा स्थापित ऐतिहासिक संग्रहालयलाई सुन्दर पर्यटकिय स्थल बनाउने योजना

ओखलढुंगामा स्थापित ऐतिहासिक संग्रहालयलाई सुन्दर पर्यटकिय स्थल बनाउने योजना



ओखलढुंगा । ओखलढुंगामा ऐतिहासिक संग्रहालय स्थापना गरिएको छ । सिद्धिचरण नगरपालिका ४ स्थित रुम्जाटारमा संग्रहालय स्थापना गरिएको हो ।

अरिदमण गणले निर्माण गरेको सो संग्रहालयमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले एकिकरण गर्ने क्रममा युद्धमा प्रयोग भएका तत्कालिन हतियारहरुको संरक्षण, संवर्द्धन र प्रर्वद्धन गर्ने उद्देश्य रहेको बताइएको छ । तत्कालिन युद्धको समयमा बन्दोवस्ती व्यवस्थापन पक्षमा प्रयोग भएका प्राचिनकालिन गाउँघरमा निर्मित सामग्रीहरुको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले पनि रहेको छ ।

संग्रहालयमा ४ वटा कक्ष रहेका छन् । जसमा युद्ध कक्ष, ओखलढुंगा कक्ष, प्राचिनकालिन कक्ष र साँस्कृतिक कक्षलाई छुट्याईएको छ । संग्रहालय भित्र एकिकरणको समयमा लडाई लडेको तस्विर, जिल्लाको विभिन्न गढीमा प्रयोग भएका हातहतियार, काठको डाँडु, भोटे ताल्चा जस्ता सामग्रीहरु राखिएका छन् ।

त्यस्तै जिल्लाका विभिन्न जातजातीका भेषभुषा, संस्कारमा प्रयोग हुने पुराना सामाग्रीहरु, राडीपाखी बुन्ने साँचो, चर्खा, ढडिया लगायतका लोप भईसकेका निक्कै पुराना सामानहरु सजाईएका छन्। त्यहाँ भएका धेरै जसो पुराना सामग्रीहरु स्थानियहरुबाट नै संकलन हो । संग्रहालयमा सजाईएको सामग्री र संकलन गरिएका व्यक्तिको नाम समेत उल्लेख गरिएको छ ।

संग्रहालयको गत शुक्रबार उद्घाटन गरिएको छ । संग्रहालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका केन्द्र श्री नम्बर १८ बाहिनीपतिका सेनाका सहायक रथी सन्तोषराज पाण्डेले नेपाली सेनाको आर्थिक वर्ष २०७९-८० को शीघ्र प्रभाव आयोजना अन्तर्गत विनियोजन भएको रकमबाट ओखलढुंगा अरिदमण गणका सक्कल दर्जाहरुबाट संग्रहालयको निर्माण गरिएको बताए । आगामी दिनमा नगरपालिकाले संग्रहालयको संरक्षण, प्रर्वद्धन र स्तरोन्नती गर्दै लैजानुका साथै सैनिकसँग सम्बन्ध प्रगाढ हुने अपेक्षा रहेको उल्लेख गरेका थिए ।

सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजेन्द्र खनालले ऐतिहासिक संग्रहालय निर्माण हुनुमा स्थानियबासी कर्णेल गौरब गुरुङ्गको पहल रहेको उल्लेख गरेका छन् । उनले ३-४ महिनाको छोटो अवधिमा नै सुन्दर संग्रहालय निर्माण भएको भन्दै अन्य योजनाहरु पनि यसैगरी छिटो निर्माण हुने हो भने नेपालले विकासमा चाँडै फड्को मार्ने बताएका छन् । नगरपालिकाले यस संग्रहालयलाई सुन्दर पर्यटकिय स्थल बनाउने योजना रहेको प्रमुख खनालले बताए ।

सिद्धिचरण नगरपालिकाले संग्रहालय सञ्चालनको लागि छिट्टै समिति गठन गरी कार्यविधि तयार पारेर टिकेट प्रणालीमा जाने योजना रहेको प्रमुख खनालले बताएका छन् । संग्रहालयको विस्तारको काम अझै धेरै बाँकी रहेकाले यसको लागि संघ, प्रदेश सरकार र स्थानियवासी जो सेनामा देशविदेशमा रहेकाहरुको समेत सहयोगको अपेक्षा रहेको प्रमुख खनालको भनाई छ ।यसको लागि अझै नेपाली सेनाको प्राविधिक सहयोग आवश्यक रहेकोले सहयोगका लागि अपिल गरे । शुक्रबारको उद्घाटन कार्यक्रममा सहायक रथी पाण्डेले नगर प्रमुख खनाललाई संग्रहालयको साँचो हस्तान्तरण गरेका छन् ।

नव निर्मित संग्रहालयकै प्राङ्गणमा भएको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, बुद्धिजिवी, स्थानिय, पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा संग्रहालयको लागि सहयोग पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।