मछिन्द्रले जित्यो राजर्षि जनक कपको उपाधि

मछिन्द्रले जित्यो राजर्षि जनक कपको उपाधि



सर्लाही । सातौं संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र एफसी क्लबले हात पारेको छ । बागमती नगरपालिका-११ स्थित सन्तोष श्रेष्ठ स्मृति रंगशालामा आइतबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउँदै मछिन्द्रले उपाधि जितेको हो ।

खेलको २९ औँ मिनेटमा जावलाखेलका खेलाडीले डि-बक्स एरियानजिकै फल गरेपछि पाएको पेनाल्टीमा विमल घर्ती मगरले गोल गरेपछि मछिन्द्रले पहिलो हाफमा अग्रता बनाएको थियो । खेलको ७८ औँ मिनेटमा सौरव लिम्बुको पासमा मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए ।

मछिन्द्रका डिफेण्डर दिवाकर चौधरीको कमजोरीको फाइदा उठाउँदै खेलको ८२ औँ मिनेटमा विनोद केसीले गोल गरेपछि जावलाखेलले खेल २–१ को अवस्थामा ल्यायो ।

मछिन्द्रले उपाधिसँगै १० लाख रूपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता बनेको जावलाखेलले ५ लाख रूपैयाँमा चित्त बुझाएको छ ।