काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । माओवादी पदाधिकारीको बैठकको पूर्व सन्ध्यामा भएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका थिए । करिब दुई घन्टा संवाद भएपछि कांग्रेस नेताहरु बाहिरिएका छन् ।
आसन्न राष्ट्रपतिमा निर्वाचनमा आफ्नो दललाई सहयोग गर्न काँग्रेस नेताहरुले आग्रह गरेको बुझिएको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले भोली बस्ने पार्टीको पदाधिकारी बैठकमा छलफल गर्ने आश्वासन दिएका छन् । बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रुपले अघि बढेको बताए । उनले भने, ‘अझै केही दिन समय छ । उहाँले पार्टीभित्र छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ ।’
प्रतिक्रिया