२३ ओभरमा नेपालले गुमायो छ विकेट

२३ ओभरमा नेपालले गुमायो छ विकेट



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय त्रिदेशीय शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्ध दुई सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालले २३ ओभरमा छ विकेट गुमाएको छ ।

नेपालका कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, सन्दीप जोरा र दिपेन्द्र सिंह ऐरी आउट भएका छन् । नेपालले २३ ओभर सकिँदा छ विकेट गुमाएर सय रन बनाएको छ ।

पहिलो इनिङमा जर्ज मन्जीको अर्धशतकप्रेरित स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रनको योगफल तयार गरेको थियो ।

नेपालको कसिलो बलिङसामू संघर्षरत स्कटल्यान्डले पहिलो विकेटका लागि ४२ रनको साझेदारी पाएको थियो । तर त्यसपछि लामो साझेदारी गर्न नसकेको स्कटल्यान्डले ठूलो योगफल बनाउन सकेन ।

स्कटल्यान्डका लागि ५० बलको सामना गरेका मन्जीले ९ चौका र दुई छक्कासहित ६० रनको इनिङ खेले । यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका विकेटकिपर–ब्याटर म्याथ्यु क्रसले ६३ बलमा चार चौका र एक छक्कासहित ४२ रन जोडे ।

त्यसबाहेक, ब्रान्डोन म्याकमुलेनले ३१, काइल कोइट्जरले २२ र क्रिस्टोफर म्याकब्राइडले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए । यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए ।

यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो । जारी शृंखलामा अपराजित नेपाल आजको खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ ।

नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न योसहित नौ वटै खेल जित्नुपर्ने दबाब छ । नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी)सँग अर्को शृंखला खेल्ने छ ।