नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भयो : प्रशिक्षक देसाई

नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भयो : प्रशिक्षक देसाई



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले खेलाडीलाई दिएको जिम्मेवारी सही तरिकाले प्रयोग गर्दा सफलता मिलेको बताएका छन् ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला नेपालले क्लिन स्वीप गरेपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक देसाईले यस्तो बताएका हुन् । घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा यादगार शृङ्खला बनाउँदा आफू खुसी भएको उनले प्रतिक्रिया दिए ।

नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भएको भन्दै प्रशिक्षकको रूपमा नियुक्त भएपछि आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरूको खुबीलाई निखार्ने प्रयास गर्दा मिलेको सफलतामा आफू खुसी भएको देसाईले बताए ।

नयाँ प्रशिक्षक नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले यस शृङ्खलाबाट सुधारको सङ्केत दिएको छ । यही शृङ्खलामा नेपाली खेलाडीको व्यक्तिगत तथ्याङ्कमा उल्लेख्य सुधार आएको छ भने नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न सफल भएको छ ।