सिंगापुरविरुद्ध नेपालको फराकिलो जित

सिंगापुरविरुद्ध नेपालको फराकिलो जित

आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोट



काठमाडौं । नेपालले आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा सिंगापुरविरुद्ध ९६ रनको फराकिलो जित निकालेको छ ।

शुक्रबार युनाइटेड अरब इमिरेट्स (यूएई)को इडेन गार्डेन ओभल अज्मानमा टस जितेर ब्याटिङमा आएको नेपालले आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकमा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो । २६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको सिंगापुरले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो ।

नेपालका आकाश त्रिपाठीले ७८ रन बनाए । आकाशले १०० बलमा सात चौका र एक छक्का प्रहार गरे । आकाशले दोस्रो विकेटका लागि ओपनर अर्जुन कुमालसँग ९७ रनको साझेदारी गरेका थिए । अर्जुनले ६७ बलमा तीन चौकासहित ३७ रन बनाए ।

विशालविक्रम केसी ५४ बलमा चार चौका र दुई छक्कासहित ६३ रनमा अविजित रहे । कप्तान देव खनालले २१, दीपक बोहराले १७, सुवास भन्डारीले १२ र दीपक प्रसाद डुम्रेले १० रन थपे ।

सिंगापुरका अभुदय छजेर र आर्याविर चौधरीले समान दुई विकेट लिए । अद्धित्य भार्गवा र मुहिया भाटियाले एक–एक विकेट लिए ।

२६२ रनको लक्ष्य पछ्याएको सिंगापुरका आर्यन मोदीले ५८ रन बनाए । सिद्धान्त श्रीकान्तले ४४ रन बनाउँदा अर्जुन नागपाल र अभुदय छजेरले समान १४ रन जोडे ।

नेपालका सुबास भन्डारीले र हेमन्त धामी दुई–दुई विकेट लिए । विशालविक्रम केसीले एक विकेट लिए ।

छनोटमा नेपालसँगै सिंगापुर, हङकङ, मलेसिया, कुवेत र यूएई छन् । छनोटको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा हुने यू–१९ एकदिवसीय क्रिकेट विश्वकपमा स्थान बनाउने छ ।