काठमाडौं । सर्वोच्च अदालतमा बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ बन्द इजलासमा भइरहेको छ । सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले दिएको निवेदन र सन्दीपले विदेश जाने अनुमति माग्दै दिएको निवेदनको सुनुवाइ बन्द इजलासमा सर्वोच्च अदालतले गरिरहेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुवै रिट निवेदनको सुनुवाइ भइरहेको हो । इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्ने आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।
उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।
उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो । यता पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा छाड्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेस गरेको थियो । सन्दीप र महान्यायाधिवक्ताले दिएको छुट्टाछुट्टै निवेदनमाथि आइतबार संयुक्त सुनुवाइ भइरहेकाे हाे ।
बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानुनी व्यवस्था छ । बन्द इजलासमा दुवै पक्षका वकिलको मात्रै उपस्थिति रहेको छ ।
प्रतिक्रिया