मुसिकोट र त्रिवेणीका विद्यार्थी राष्ट्रपति रनिङ शिल्डबाट बञ्चित

मुसिकोट र त्रिवेणीका विद्यार्थी राष्ट्रपति रनिङ शिल्डबाट बञ्चित



सुर्खेत । स्थानीय तहको बेवास्ताका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका विद्यार्थी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुनबाट बञ्चित भएका छन् । पालिकाको बेवास्ताका कारण विद्यार्थीहरु चौरजहारीमा जारी १३ औं जिल्लास्तरीय शिल्डमा सहभागी हुन पाएनन् । 

पालिकास्तरीय शिल्ड सञ्चालन गरेका स्थानीय तहले मात्र जिल्ला स्तरीय शिल्डमा भाग लिन पाउँछन् । मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले शिल्ड संचालन नगरेपछि उक्त दुई स्थानीय तहमा रहेका सयौं विद्यार्थीहरु शिल्डमा सहभागी हुनबाट बञ्चित भएका हुन् । 

वार्षिक परीक्षाका कारण शिल्ड सञ्चालन गर्न नसकिएको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले जानकारी दिए ।  वार्षिक परीक्षाका कारण शिल्डको तयारी नपुग्ने भएकोले यो वर्ष शिल्ड संचालन गर्न नसकिएको उनको भनाई छ । अब अर्को वर्षदेखि भने वार्षिक शैक्षिक क्यालेण्डरमै समावेश गरेर दशैं र तिहारको बीचमा शिल्ड सञ्चालन गर्ने उनले बताए । 

त्यस्तै त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले पनि तयारी नपुगेकाका कारण शिल्ड सञ्चालन गर्न नसकिएको बताए । प्रअ बैठकमा छलफल गर्दा यो वर्ष शिल्ड सञ्चालन गर्न नसकिने निष्कर्ष निस्किएपछि शिल्ड सञ्चालन गर्न नसकिएको उनले बताए । उनले पनि आगामी वर्षदेखि भने नियमित रुपमा शिल्ड संचालन गर्ने बताए ।

राष्ट्रपति रनिङ शिल्ड विद्यार्थीहरुका लागि प्रतिभा देखाउने महत्वपूर्ण माध्यम हो । तर, स्थानीय तहले यसको महत्व नबुझ्दा क्षमता हुँदा हुँदै पनि बर्सेनि धेरै विद्यार्थीहरु शिल्डमा सहभागी हुन पाइरहेका छैनन् । यति मात्र होइन स्थानीय तहले शिल्ड सञ्चालन नगरिदिँदा जिल्लास्तरीय शिल्डसमेत नियमित रुपमा सञ्चालन हुन सकेको छैन । 

कम्तिमा पनि आधा स्थानीय तहले शिल्ड सञ्चालन गरेपछि जिल्लास्तरीय शिल्ड सञ्चालन गर्नुपर्ने नियम रहेकोमा कुनै वर्ष धेरै स्थानीय तहले शिल्ड सञ्चालन नगर्दा जिल्लास्तरीय शिल्ड नियमित रुपमा सञ्चालन गर्न नसकिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले बताए ।

स्थानीय तह बनेपछि जिल्लामा अहिलेसम्म गत वर्ष र यो वर्ष गरी दुईपटक मात्र जिल्लास्तरीय शिल्ड सञ्चालन भएको छ । गत वर्ष आठबीसकोटमा शिल्ड भएको थियो । शिल्ड सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक स्थानीय तहलाई बर्सेनि १ लाख रुपैंया राखिदिने गरेको छ । तर, पनि रुकुम पश्चिमका सबै स्थानीय तहले नियमित शिल्ड सञ्चालन गर्दैनन् । 

हरेक वर्ष जिल्ला खेलकुद विकास समितिले अनिवार्य शिल्ड सञ्चालनका  लागि पालिकाहरुलाई परिपत्र गर्ने गरेपनि सबै स्थानीय तहले नमान्ने गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव ढकालको भनाई छ । उनका अनुसार यो वर्ष जिल्ला खेलकुद विकास समितिले फागुन ८ गतेभित्र पालिकास्तरीय शिल्ड संचालन गरी १० गतेभित्र विजयी खेलाडीको नाम जिल्ला खेलकुद विकास समितिमा बुझाउन बनेको थियो । 

यो वर्षको जिल्ला स्तरीय शिल्डमा ४ वटा स्थानीय तहका विद्यार्थीले मात्र भाग लिएका छन् । तर, मार्सलआर्ट अन्तर्गत भने मुसिकोटका विद्यार्थीहरुले पनि सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । शुक्रबार देखि सुरु भएको शिल्डमा करिब २ सय बिद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । शिल्ड आइतबार सकिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।