सन्दीपको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा

सन्दीपको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा



काठमाडौं । सर्वोच्च अदालतले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो  ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । 

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो । यता पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा छाड्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेस गरेको थियो । सन्दीप र महान्यायाधिवक्ताले दिएको छुट्टाछुट्टै निवेदन दुबैलाइ भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हाे ।

आजको इजलासमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए । यस्तै सन्दीपका बाँकी वकिलले सोमबार बहस गर्नेछन् ।  यस्तै आज पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे ।