ल्यानिङको कप्तानीमा अस्ट्रेलियाले ५ वटा विश्वकप जितेर किर्तिमान

ल्यानिङको कप्तानीमा अस्ट्रेलियाले ५ वटा विश्वकप जितेर किर्तिमान



काठमाडौं । अस्ट्रेलियाको महिला क्रिकेट टोलीले फेरि एकपटक विश्वकपको उपाधि जितेको छ । आइतबार केप टाउनमा भएको फाइनल खेलमा म्याग ल्यानिङको कप्तानीमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो । अष्ट्रेलियाको यो छैटौं टी–२० विश्वकप हो, अहिलेसम्म ८ वटा विश्वकप मात्रै आयोजना भएको छ ।

अष्ट्रेलियाको यो सफलताको श्रेय कप्तान म्याग ल्यानिङलाई दिइन्छ, जसको नेतृत्वमा टोलीले ५ विश्वकप जितेको छ । जसमा चार टी-२० विश्वकप र एउटा एकदिवसीय विश्वकप समावेश छ। उनको नेतृत्वमा अस्ट्रेलियाले कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेको थियो । अचम्मको कुरा के हो भने पुरुष होस् या महिला क्रिकेट, अहिलेसम्म कुनै पनि कप्तानले यति धेरै उपाधि जितेका छैनन् ।

यो रेकर्डको मामिलामा म्याग ल्यानिङले अस्ट्रेलियाका रिकी पोन्टिङ र भारतका महेन्द्र सिंह धोनीलाई पछि पारेकी छिन् । अष्ट्रेलियाले रिकी पोन्टिङको नेतृत्वमा ४ उपाधि (२ विश्वकप, २ च्याम्पियन्स ट्रफी) जितेको छ भने एमएस धोनीले ३ उपाधि (एक एकदिवसीय विश्वकप, एक टी-२० विश्वकप र एउटा च्याम्पियन्स ट्रफी) जितेका छन् ।

म्याग ल्यानिङ मात्र ३० वर्षकी भएकी छिन् र उनी कप्तानीमा मात्र नभई ब्याटिङका ​​हिसाबले पनि क्रिकेटको लिजेन्ड हुन् । म्याग ल्यानिङले अन्तर्राष्ट्रिय क्रिकेटमा १७ शतक बनाएकी छिन्, जुन एउटा कीर्तिमान हो । उनले १५ ओडिआई र २ टी–२० शतक बनाएकी छिन् ।

म्याग ल्यानिङको करियरलाई हेर्दा उनले हालसम्म १०३ एकदिवसीय खेलमा ५३‍.१३ को औसतमा ४६०२ रन बनाएकी छिन् । उनले १३२ टी–२० खेलमा ३४०५ रन बनाएकी छन् भने यो अवधिमा उनको औसत ३६.२२ रहेको छ । कप्तानी बाहेक उनले खेलाडीको रुपमा पनि विश्वकप पनि जितेकी छिन्, यस बाहेक उनले आईसीसीका सबै ठूला अवार्ड जितिसकेकी छिन् ।