सन्दीपलाई सर्वोच्चद्वारा विदेश जान अनुमति

सन्दीपलाई सर्वोच्चद्वारा विदेश जान अनुमति

थुनामा राख्नु नपर्ने फैसला



काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

सर्वोच्चको आदेशसँगै लामिछानेलाई विदेश जान बाटो खुलेको छ ।

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

उच्च अदालतले भने लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उच्चको सो आदेशलाई सर्वोच्चले सदर गरी लामिछानेलाई विदेशसमेत जान पाउने अनुमति दिएको छ ।